२०८२ असार २३ सोमबार

११३ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सिम्खडाको मार्मिक सम्वोधन, उठाए जलवायु परिवर्तन देखि कृत्रिम बौद्धिकता (एआई) सम्मको प्रसंग

२६ जेठ, जेनेभा स्विजरल्याण्ड । जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को १ सय १३ औँ श्रम सम्मेलनमा सहभागि संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी)का अध्यक्ष जगतबहादुर सिम्खडाले नेपाली श्रमिकहरुको प्रतिनिधित्व गर्दै आज अपरान्ह सम्वोधन गरेका छन । सम्वोधन मार्फत उनले जेटीयुसीसीको स्थपना पश्चात भएका  उपलब्धि, संविधानमा श्रमिकका अधिकारहरूलाई मौलिक अधिकारको रूपमा समेटिएको विषय तथा नयाँ श्रम कानुनहरु पारित भएका प्रसंग देखि योगदानमा आधारित सामाजिक सुरक्षा ऐन तथा योजनाहरूको शुरुवात जस्ता महत्वपूर्ण उपलब्धिहरू हाँसिल गरिएको र श्रमिकहरूका आवाज बलियो बनाउन सफल भएको बारेमा अन्तर्राष्ट्रिय समुदायलाई सुनाएका छन ।

उनले सम्वोधनका क्रममा हाल नेपालको श्रम बजार आर्थिक संक्रमण र वैदेशिक रोजगारी जस्ता विविध समस्याहरूबाट गुज्रिरहेको, केही श्रम कानुनका धाराहरूको दुरुपयोग भइरहेकाले औपचारिक क्षेत्र अनौपचारिकतर्फ रुपान्तरित हुँदै गएको र यसले श्रमिकहरूलाई संगठित हुन, माग राख्न र अधिकार दाबी गर्नसमेत अवरोध पु¥याइरहेको धारणा राखे ।

श्रम ऐन २०७४ का धारा १४५ जसले श्रमिकलाई कामबाट हटाउने र संगठित हुने मौलिक अधिकार खोस्ने व्यवस्था भएको तथा धारा ५८ ले स्थायी कामदारलाई आउटसोर्सिङमार्फत अधिकारविहीन बनाउने र तिनीहरूलाई वस्तुको रूपमा व्यवहार गर्ने भएकोले अत्यन्तै आपत्तिजनक रहेको बारेमा पनि उनले विषय उठाए । यस्ता व्यवहारले अन्ततः लाखौं युवाहरु मर्यादित रोजगार र सुन्दर भविष्यको लागि बिदेश जान बाध्य भएको समेत बताए।

उनले कतपिय सवालमा नेपालको सरकार तथा अदालतको काम कारवाही प्रति समेत असन्तुष्टी ब्यक्त गर्नुपर्ने अवस्था आएको भन्दै हालसालै सर्वोच्च अदालतले बैंक तथा वित्तीय क्षेत्रमा श्रम ऐन लागू नहुने निर्णय गरेको, जुन संविधानको मर्म विपरीत भएको बताए ।  त्यसैगरी, होटल, रेष्टुरेन्ट र पर्यटन क्षेत्रमा दश प्रतिशत सेवा शुल्क खारेज गर्ने सर्वोच्चको निर्णयले सामूहिक सौदाबाजीको सिद्धान्त विपरीत गई श्रमिक अधिकार नष्ट गरेको बताए ।  साथै योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको कार्यान्वयन सुस्त रहेको र  रोजगारदाता यसको विरोधमा छन् भने सरकार पनि उदासीन देखिएको बताएका छन ।

सम्वोधनकै क्रममा उनले नेपालका हिमालहरु पग्लँदै कालो ढुंगा बन्दै गइरहेका अवस्थामा नेपालको पर्यटन, अन्य क्षेत्र र जन स्वास्थ्यमा समस्या परेकोले श्रमिक जनशक्ति गुमाउनु परेको बताउदै, विकसित राष्ट्रहरूबाट उत्सर्जित कार्बनको कारण जलवायुपरिवर्तनको प्रभाव बढीरहेकोले यसलाई जलवायु तथा वातावरणीय अपराध ठहर गरी विकसित राष्ट्रहरूले क्षतिपूर्ति दिनुपर्ने माग समेत गरे ।  साथै, नयाँ बजार र रोजगारीमा समायोजन गर्न श्रमिकहरूको न्यायोचित रुपान्तरणका सन्दर्भमा निरन्तर गतिविधि सञ्चालन गर्ने पनि उनको भनाइ थियो । उनले अहिलेको चुनौतिका रुपमा कृत्रिम बौद्धिकता अर्थात एआइले श्रमिकको रोजगारी खोसेको मात्र नभइ, विश्वव्यापी रूपमा आम्दानीमा असमानता पनि बढाएको बताए। नयाँ रोजगारी बजारका चुनौतीहरूलाई सम्बोधन गर्न न्यायोचित रुपान्तरणको बारेमा समेत गम्भीर सोच र कदम चाल्नुपर्ने समय आएको उनको कथन थियो ।

अध्यक्ष सिम्खडाले जेटियुसीसी नेपालले श्रमिकका सवालहरुमा निरन्तर अभियान, वकालत तथा गतिविधिहरु  अगाढी बढाईरहेको स्मरणा गराउदैँ नेपाली श्रमिकहरूको जीवनस्तर उकास्न निरन्तर सहयोग गरिरहेको आईएलओ नेपाल, सहयोगी संस्था एवं सरोकारवालालाई धन्यवाद समेत दिएका छन ।

सम्मेलनले सबैलाई एकताबद्ध गर्दै, अधिकार रक्षाका पक्षमा संघर्ष गर्न, एकआपसमा ऐक्यबद्धता र सहयोग बढाउने अवसर प्रदान गर्नेमा विश्वास व्यक्त गर्दै ११३ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको सफलताको कामना सहितं सम्मेलनको निश्कर्षहरु कार्यान्वयनको लागी सहकार्यको प्रतिवद्धता समेत अध्यक्ष सिम्खडाले ब्यक्त गरे ।

अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको ११३ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलन आईएलसी यस वर्ष जुन २ देखी जुन १४, सम्म स्विजरल्याण्डको जेनेभामा सञ्चालन भईरहेको छ । बिश्वभरीबाट सरकार, रोजगारदाता र ट्रेड युनियनहरुको सहभागितामा आयोजना हुने सम्मेलनमा नेपालको प्रतिनिधि मण्डलमा नेपाल सरकारको प्रतिनिधित्व गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, नेपाली श्रमिकको प्रतिनिधित्व गर्दै जेटियुसीसीका अध्यक्ष, रोजगारदाताको प्रतिनिधित्व गर्दै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्षल सहभागि छन । सम्मेलनमा  नेपाली श्रमिकको तर्फबाट  अध्यक्ष सिम्खडा सहित जेटीयुसीसीका  महासचिव श्री इन्द्र देव मिश्र, जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुँवर, जिफन्ट महासचिव लक्ष्मण कुमार शर्मा र अखिल नेपाल ट्रेड युनियन महासंघ युवा समिति अध्यक्ष मुकुन्द प्रसाद पन्तको सहभागिता रहेको छ । सहभागिहरुले सम्मेलनका बिभिन्न सत्रहरुमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने क्रम जारी छ।

२०८२ जेष्ठ २६, सोमबार प्रकाशित 0 Minutes 305 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।