२०८२ असार २३ सोमबार

धादिङबारे प्राज्ञिक प्रस्तुति ‘प्रज्ञा-प्रवाह’

सुरेश सुवेदी

नीलकण्ठ प्रज्ञा-प्रतिष्ठानले ‘प्रज्ञा-प्रवाह’को दोस्रो अंक सार्वजनिक गरेको छ । धादिङको माटोमा जन्मिएर देशविदेशका विभिन्न भूगोलमा गर्विलो व्यक्तित्व बनाउनु भएका बौद्धिक लेखक, अनुसन्धाताहरुकोलेख संग्रहित छ । विभिन्न ९५ जनाले आफ्नो लेखनसिपमार्फत पुस्तक सुसज्जित छ ।
समाजलाई उत्खनन् गरेर त्यसभित्रका केस्रा केस्रा नियाल्ने प्रयत्न हो पुस्तक । धादिङको समाजमा रहेको भाषा, साहित्य, कला, सङ्गीत, संस्कृति, ज्ञान-विज्ञान, प्रविधि, समाजशास्त्र र दर्शनशास्त्रका विषयलाई सिर्जन कर्मद्वारा लिपिबद्ध गरिएको छ । यी लेखहरुले सभ्य समाजको चित्रण गर्दै थप मार्गदर्शन गर्ने प्रयास गरेको छ । लेखकहरुको प्रयासलाई मानवीय प्रतिभाको सामर्थ्य उल्लेख गर्दै ‘प्रज्ञा-प्रवाह’ लाई नेपाली वाङ्‌मयको विशाल भण्डारमा थपिएको एउटा नयाँ पुष्पगुच्छा को संज्ञा दिएको छ ।

प्रवासमा बालबालिका हुर्काउन र नेपाली भाषा संस्कृति सिक्ने तयारीको पृष्ठभूमि पनि रोचक छ । लेखक शिव लामिछानेको अमेरिकी अनुभव ज्ञानवर्धक छ । आफ्नो मौलिकपनबाट टाढिएकाहरूलाई नेपाली भाषा संस्कृति र जीवनशैली सिकाउने क्रममा भोगेका भोगाइ र नेपाली पनको महत्त्व शिवको लेखमा पाइन्छ ।

लेखनका अनेकौ विधा क्षेत्रमा कलम चलाउनु निश्चय नै कठिन कार्य हुन्छ , जुन यस अंकमा छ । यसमा प्रकाशित लेख रचनाहरू साहित्य र समाजका विभिन्न विधा र परिघटनासँग सम्बन्धित छन् । समाज प्रतिविम्बनका विभिन्न आयामहरूमध्ये वैयक्तिक अनुभव, यात्रानुभूति, सामाजिक परिघटना र व्यक्ति-व्यक्तित्वको उत्खनन गर्न यसभित्रका रचनाहरू सफल रहेका छन् । समाजलाई हेर्ने विभिन्न दृष्टिकोणहरू हुनसक्ने भएकाले यसमा सङ्कलित रचनाहरूमा पनि विभिन्न विधा क्षेत्रका सामाजिक आयामहरूलाई समेटिएकाे देखिन्छ ।

यस वार्षिक अङ्कमा प्रकाशित सामग्रीको लागि धेरै नै परिश्रम गरिएको देखिन्छ । अनुसन्धान तथा खोजमूलक रचनाहरू धादिङको माटो र प्रतिभाहरूको उत्खनन गरी ऐतिहासिक अभिलेखमूलक दस्तावेजका रूपमा प्रस्तुत भएका छन् । व्यक्ति, व्यक्तित्व, यात्रानुभव र संस्मरणात्मक लेखहरूले लुप्त प्रतिभाको पहिचान गराउनुका साथै तीर्थस्थल र पर्यटकीय गन्तव्यलाई दृश्यावलोकन गराएका छन् । समग्रमा यस अङ्कमा समाविष्ट सबै साहित्यिक तथा साहित्येतर रचनाले माटोको सुवास छरेको अनुभव गर्न सकिन्छ ।

यसैगरी `धादिङ जोड्ने पूर्वाधारहरू´ले धादिङको भूगोलको नयाँ परिचय दिन सक्षम छ । इ .निरञ्जन श्रेष्ठकाे लेख गज्जब छ । यसैगरी, बसाइँ सराइ र धादिङले गुमाइरहेको जनसांख्यिक लाभ शीर्षकमा डा. प्रताप छत्कुलीले गम्भीर पक्षलाई अौल्याएका छन् ।

वरिष्ठतम् संस्कृति विद जगमान गुरुङ देखि अन्य प्राध्यापक हरुकाे लेख अनुभव संग्रहित छ ।

पुस्तकमा प्रताप सिंह तामाङ, बाबुकाजी सिलवाल रहेका छन् । `आँखै अगाडि निर्माण भएको विशाल सहर´प्रा. डा. बालमुकुन्द रेग्मीकाे लेख खाेजमुलक छ ।

यसैगरी, राजन सिम्खडा, डा. रामकुमार अधिकारी,प्रा.डा. रामचन्द्र लंसाल,रामप्रसाद अधिकारी, डा. राम थापा क्षेत्री र रेखा शाहलगायतका खाेज तथा अनुभव समेटिएको छ ।

पुस्तकमा `साहित्यमा अल‌ङ्कारको प्रभाव´
शीर्षकमा प्रा. रामहरि दाहालको आलेख, `त्रिशुलीको कलकल र धादिङको माया´ रुकु कार्कीको लेख लगायत छन् ।

सामाजिक विविध खण्डअन्तरगत धादिङदेखि धादिङबेसीसम्म शीर्षकमा उत्तम कँडेलको सदरमुकामसँग अनुभव छ।

यसैगरी, दीपक कोइरालाले `लोक-संस्कृति प्रवर्द्धनको सारः पहिचान, पर्यटन र समृद्धिको आधार´ मा सम्वृध्दिकाो सपना देखाएका छन् ।

पुस्तकले डा. सुभाषचन्द्र अधिकारी, शम्भु राम सिंखडा, सुमन थापालगायतको लेखले डायस्पोरिक दुनियाँमा धादिङे मनहरुको अनुभवलाई साक्षात्कार गराउँछ ।

२०८२ असार १६, सोमबार प्रकाशित 1 Minute 57 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।