३ असोज, काठमाडौं। संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ। नेपाल सरकारद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रुपमा सहभागी हुनभएको थियो।
त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै संविधानको पूर्णपालना सहित नागरिकका अधिकारको रक्षाका लागि पूर्ण प्रतिवद्धता व्यक्त गर्नु भयो। आजै साँझै राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा विशेष समारोह आयोजना गर्दै हुनुहुन्छ।
संविधान दिवसका उपलक्ष्यमा संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी संघ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाद्वारा पनि विभिन्न कार्यक्रमको आयोजना हुँदै छ। विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम हुँदैछन।
नेपाली जनताको सातदशक लामो संघर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रुपमा गठन भएको संविधानसभाबाट विस २०७२ असोज ३ गते संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो।
३५ भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षता लगायत पक्षलाई आत्मसात गरेको संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ।
सरकारले संविधान जारी भएको उक्त दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रुपमा मनाउँदै आएको छ। ‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको आजै ९ वर्ष पूरा भएको छ।
यसैबीच, संविधान दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा विभिन्न पार्टीका शीर्ष नेताहरुले शुभकामना सन्देशमार्फत उल्लासमय वातावरणमा राष्ट्रिय दिवस भव्य रुपमा मनाउन आम–जनसमुदायलाई आह्वान गरेका छन्। सरकारले संविधान दिवसका अवसरमा दिपावली मनाउन र राष्ट्रिय झन्डा फहराउन सबैमा आह्वानसमेत गरेको छ।
आजै साँझ काठमाडौंको दरबारमार्गमा नेसनल डे कन्सर्ट समेत आयेजना गरिदैं छ जहाँ प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागि हुने तालिका रहेको छ।
यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।