२०८३ बैशाख १ मंगलवार

विपद्को समयमा दुई वटा हेलिकप्टर तयारी अवस्थामा राख्न गृहमन्त्री गुरुङको निर्देशन

गृहमन्त्री सुधन गुरुङले विपद्मा परेका नागरिकको तत्कालै उद्धारको गर्नको लागि दुई वटा हेलिकप्टर तयारी हालतमा राखिने बताउनु भएको छ ।
चैत १७ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण आउनु भएका माननीय गृहमन्त्री गुरुङले सो कुरा बताउनुकासाथै विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्नो ज्यानको प्रवाह नगरी नागरिकहरुको उद्धार कार्यमा खटिएकोमा हार्दिक धन्यवाद समेत दिनुभएको थियो ।
उहाँले आम नागरिकको जीउ ज्यान भन्दा ठूलो पैसा नभएको उल्लेख गर्नुहुँदै आपद् विपद्मा परेका नागरिकहरुको सेवा सुरक्षा गर्नको लागि नेपाल सरकार, गृहमन्त्रालय लगायत सुरक्षार्मीहरु तयारी हालतमा रहन निर्देशन समेत दिनुभएको छ ।
माननीय गृहमन्त्री गुरुङले विगत केही वर्ष अगाडी सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट विपद् व्यवस्थापन सम्बन्धी तालिम समेत लिएको स्मरण गर्नहुँदै कोभिड–१९ महामारी र सीमा नाकामा नेपाल झण्डा राख्ने जस्ता कार्यमा सशस्त्र प्रहरी बल नेपालसँग नजिक भएर काम गरिसकेको हुँदा सुरक्षार्मीको काम, कर्तव्य र अधिकार तथा दुःख कस्तो हुन्छ भन्ने बारेमा समेत आफु जानकार रहेको बताउनुभयो ।
माननीय गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई विपद् शुरु हुनु आगाडी नै तयारी हालतमा रहन निर्देशन दिनुकोसाथै सशस्त्र प्रहरी बल नेपालको जनशक्ति अब व्यारेकमा होईन फिल्डमा हुनुपर्ने बताउनुहुदैँ विपद् व्यवस्थापनको लागि भरपुर मेहनत गर्नुपर्ने समेत बताउनुभयो ।
उहाँले ड्युटिको समयमा जुनसुकै ठाउँमा परिचालन हुदाँ नागरिक र सुरक्षाकर्मी एउटै हो भन्ने भावना बोकी सबैमा नम्र व्यवहार गर्नुपर्ने उल्लेख गर्नुहुदै आपद् विपद्मा परेका नागरिक हरुको उद्धारमा खटिदाँ नागरिकको मात्र उद्धार नभई उद्धारमा खटिने सुरक्षाकर्मीको आफ्नो सुरक्षा अपनाई परिचालन हुने व्यवस्था ल्याउनुपर्नेमा मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।
सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको परिचालन
माननीय गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी तथा तस्करी रोक्नको लागि मन्त्रालय कठोर भएर अगाडि वढ्ने बताउनुहुदै त्यस्ता कार्यमा कुनैपनि सशस्त्र प्रहरी कर्मचारीहरु संलग्न नरहन आग्रह गर्नुभयो
उहाँले सीमा क्षेत्रमा राखिएको नेपालको झण्डालाई कपडाको रुपमा मात्र नलिई देशको अस्थित्व बोकेको पहिचान भएको बताउनुहुदै बोर्डर क्षेत्रमा फहराएको नेपाली झण्डा च्यातिएको अवस्थामा देखियो भने तत्कालै त्यस ठाउँमा खटिएका कर्मचारीलाई सिधै आफुले प्रतिक्रिया राख्ने बताउनुभयो ।
संगठन सुधारका प्रयास
माननीय गृहमन्त्री सुधन गुरुङले कार्यक्षेत्रमा परिचालित हुदाँ आईपरेका समस्या समाधनको लागि सशस्त्र प्रहरी बल नेपालमा कानूनी व्यवस्था स्पष्ट नभएको बनाउनको लागि मन्त्रालय सकारात्मक रहेको बताउनुहुदै नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका कर्मचारीहरु सगँसगै बसि काम गरेको हुदाँ सशस्त्र प्रहरी कर्मचारीहरुको समस्या समाधान गर्न आफु हरदम तयार रहेका बताउनुभयो ।
उहाँले आफ्नो घर परिवार चलाउन समेत कठिनाई परेका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको सेवा सुविधामा हेरफेर गर्न नेपाल सरकार लगायत गृहमन्त्रालय सकारात्मक रहेको बताउनुुभयो ।
उहाँले सशस्त्र प्रहरी कर्मचारीहरु १३÷१४ बर्षसम्म एउटै पदमा रहि कार्यगर्नुपर्ने बाध्यतालाई समाधान गर्न मन्त्रालय अगाडि बढ्ने बताउनुहुँदै संगठनलाई अगाडि बढाउन तथा कार्य क्षेत्रमा परिचालन हुदाँ आई परेका समस्या समाधानका लागि आवश्यक नीति तथा कानुनी व्यवस्था लिखित रुपमा मन्त्रालयमा पेश गर्न निर्देशन दिनुभयो ।

माननीय गृहमन्त्री गुरुङले देशबासी नागरिक र सुरक्षाकर्मीको लागि केही गर्छु भन्ने आसा र भरोसा बोकि आफु मन्त्रालय आएको बताउनुहुदै सशस्त्र प्रहरी बल नेपालका जुनसुकै दर्जाका कर्मचारीहरुले सरुवा, बढुवा लगायतका सेवा सुविधा समय आयपछि सबैलाई पारदर्शी तरिकाले अवसर दिने बताउनुभयो ।
सोही अवसरमा माननीय गृहमन्त्री गुरुङले सशस्त्र प्रहरी बल नेपालमा भए गरेका कामकावाहीको बारेमा जानकारी लिनुकासाथै केन्द्रिय परिचालन कक्ष, अनुगमन तथा गुनासो व्यवस्थापन इकाई, Border Resource and Research Center तथा विपद् उद्धार सामाग्रीहरुको समेत अवलोकन गर्नुभएको थियो ।
सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निरीक्षण भ्रमणमा आउनु भएका माननीय गृहमन्त्री सुधन गुरुङले दिनुभएको नीति तथा निर्देशनले संगठनमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुको मनोवल उच्च रहने बताउनुहुँदै कार्यक्षेत्रमा खटिदा अनुशासित र परिणाममुखी कार्य गर्न थप प्रेरणा र हौसला मिलेको बताउनुभयो ।
उहाँले अधिकार विनाको खटाईले कार्यक्षेत्रमा कुनैपनि हालतमा परिणाम दिन नसक्ने कुरा बताउनुहुँदै सशस्त्र प्रहरी बल नेपालको कार्यक्षमता अभिबृद्धि गर्न तथा समयानुकुल सुदृढीकरणको लागि २०५८ को विशेष नियमावलीहरुलाई परिमार्जन गरी सक्षम, प्रभावकारी, व्यवसायी बनाउने तथा सीमाको सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् व्यवस्थापन, आन्तरिक सुरक्षा लगायतका विषयमा स्पष्ट कानूनी व्यवस्थाको प्रस्ताव समेत पेश गरिएको बताउनुभयो ।
महानिरीक्षक अर्यालले विशेष गरी तल्लो तहका सशस्त्र प्रहरी कर्मचारीहरुले तलव सुविधाबाट आफ्नो जीविका आर्जन गर्न समेत गाह्रो परेकोले उनीहरुको घरपरिवार तथा बालबच्चाको शिक्षा र स्वास्थ्य नेपाल सरकारले निःशुल्क गर्दिन सक्यो भने जागीर छोडी विदेश गई आर्थिक सुधार गर्छु भन्ने भावनामा कम आउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले पेन्सन पकाई घर जाने समयसम्म तल्लो दर्जाका कर्मचारीहरु पनि जुनियर अधिकृतसम्म हुने व्यवस्था ल्याउन सकियो भने कार्यक्षेत्रमा खटिने कर्मचारीहरुको मनोवल उच्च रहनुकोसाथै सशस्त्र प्रहरी कर्मचारीहरु जागिर होईन सेवा हो भन्ने भावनाले काम गर्ने समेत विश्वास व्यक्त गर्नुभयो ।
महानिरीक्षक अर्यालले नागरिकहरुमा आई परेका विभिन्न चुनौतीहरुको अवस्थामा समेत सशस्त्र प्रहरी साथमा छ भन्ने भावनाले काम गरिरहेको बताउनुहुँदै कार्यक्षेत्रमा खटिदा स्पष्ट नीति र निर्देशनको व्यवस्था नभएको हुँदा परिणममुखी कार्य गर्न समस्या परेको बताउनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक बिष्णु प्रसाद भट्टले सशस्त्र प्रहरी बल नेपालसँग सम्बन्धित विविध गतिविधिहरुको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रम देशभरका इकाईहरुमा ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी संचारद्वारा प्रत्यक्ष प्रसारण हेर्ने र सुन्ने ब्यवस्था मिलाईएको थियो ।
कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठ, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, बंशीराज दाहाल र गणेश बहादुर ठाडा मगर लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।

२०८२ चैत्र १८, बुधबार प्रकाशित 1 Minute 30 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार