राजनीतिमा एउटा थेगो निकै चर्चित छ “राजनीतिमा धैर्यता चाहिन्छ, हतार गर्नु हुन्न।” पुराना दलहरूले आफ्ना कार्यकर्तालाई दशकौँसम्म यही ‘धैर्यता’ को घुट्को पियाएर पाखा लगाउने रणनीति बुनिरहे । तर, जब आम जनता स्थापित दलहरूको यही अकर्मण्यता र नेतृत्वको ढिलासुस्तीबाट वाक्क भए, तब देशमा वैकल्पिक र नयाँ राजनीतिको उदय भयो । नयाँ दलहरूसँग जनताको अपेक्षा फरक थियो र छ, यहाँ क्षमताले प्राथमिकता पाओस्, योग्यताको कदर होस् र परिणाममुखी काम होस् ।
तर, आज नयाँ दलभित्र पनि एउटा नयाँ अन्तर प्रशङ्ग सुरु भएको देखिन्छ । एकातिर नीति र सिद्धान्त बुझेका, सांगठनिक क्षमता भएका र जनभावना कदर गर्ने ‘योग्य’ मानिसहरूलाई “हतार नगर्न” भनिँदैछ भने, अर्कोतिर अवसरवादी र महत्त्वाकांक्षी तत्त्वहरूले पार्टीको आन्तरिक प्रणाली र छविलाई प्रश्न उठ्ने गरि हावी भैरहेको छ । यो प्रश्न आजको नयाँ राजनीतिको सबैभन्दा टड्कारो प्रश्न बनेको छ ।



हाम्रो पूर्वीय दर्शन र इतिहासले सिकाउँछ कि कतिपय अवस्थामा आवश्यकताभन्दा बढी धैर्यता वा मौनता पनि अपराध बन्न पुग्छ। महाभारतको कुरुसभालाई स्मरण गरौँ । जब सभामा अधर्म भइरहेको थियो, द्रौपदीको अपमान हुँदै थियो र राज्यको जग हल्लिँदै थियो, तब भीष्म पितामह, गुरु द्रोणाचार्य र कृपाचार्य जस्ता परम योग्य, ज्ञानी र शक्तिशाली व्यक्तिहरू “आफ्नो प्रतिज्ञा” र “सही समयको प्रतीक्षा” भन्दै मौन बसे ।
उनीहरूले हतार गरेनन्, मर्यादाको नाममा आफूलाई रोकेर राखे । तर परिणाम के भयो ? कुरुसभाभित्रका दुराचारी र अदूरदर्शी पात्रहरूले कुरुवंशलाई मात्रै सिध्याएनन्, सिंगो साम्राज्यलाई महाविनाशको खाल्डोमा हाले । यदि भीष्म र द्रोणले बेलैमा आफ्नो योग्यता र शक्तिको बलमा हस्तक्षेप गरेको भए महाभारतको युद्ध नै हुने थिएन। राजनीतिमा पनि जब योग्य मान्छेहरू “नेतृत्वको आदेश” वा “धैर्यता” को नाममा चुपचाप बस्छन्, तब अयोग्य र स्वार्थीहरूले पार्टी कब्जा गरिसकेका हुन्छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ राजनीतिक शक्तिहरूको जग कुनै परम्परागत भोटबैंक वा दशकौँ लामो आन्दोलन होइन, यसको एक मात्र जग ‘जनभावना’ र ‘परिवर्तनको चाहना’ हो । नयाँ दलहरूमा लहर सिर्जना गर्न जति सजिलो छ, त्यो लहरलाई जोगाएर पार्टी मजबुद बनाउन त्यति नै कठिन हुन्छ ।
यदि पार्टीभित्र नीति र जनताको मनोविज्ञान बुझेका योग्य मान्छेहरू पछाडि हटिरहने र “पार्टीले भन्ला र पद लिउँला” भनेर पर्खिरहने हो भने, त्यो प्रतीक्षा आत्मघाती हुन सक्छ । किनभने, यदि आन्तरिक कमजोरीका कारण पार्टी नै जनभावबाट बाहिरियो र जनताको नजरमा यसको साख समाप्त भयो भने, भोलि योग्य मान्छेले पाउने “स्थान” कहाँ बाँकी रहन्छ ? जब डुङ्गा नै डुब्दछ, तब कप्तान वा नाविक को बन्ने भन्ने प्रतिस्पर्धाको कुनै अर्थ रहँदैन ।
राजनीतिमा पद पाउनका लागि सस्तो प्रचारबाजी गर्नु, नेतृत्वको चाकडी गर्नु वा अपरिपक्व रूपमा उफ्रिनु निश्चित रूपमा ‘हतारो’ र गलत प्रवृत्ति हो । तर, आफूसँग भएको क्षमता, संगठन चलाउने कुशलता र जनतालाई जोड्ने भिजनको आधारमा पद र जिम्मेवारीको दाबी गर्नु ‘हतारो’ होइन, बरु त्यो पार्टीप्रतिको जिम्मेवारीपन हो ।
योग्य मान्छेले आफ्नो दाबेदारी प्रस्तुत नगर्दा पार्टी मजबुद हुनै सक्दैन । नेतृत्वले पनि बुझ्नुपर्छ कि निष्ठावान र क्षमतावान् मान्छेलाई चिन्न र उनीहरूलाई अगाडि बढाउन ढिलाइ गर्दा, त्यसको फाइदा जहिले पनि अवसरवादीहरूले उठाउँछन् ।
आजको आवश्यकता “चुपचाप बस्ने भीष्महरू” को होइन, “अधर्म र बेथिति विरुद्ध बेलैमा बोल्ने कृष्णहरू” को हो । नयाँ राजनीतिलाई पुरानो रोगबाट बचाउने हो भने योग्य र वैचारिक नेताहरूले आफ्नो शालिनतालाई कमजोरी बन्न दिनु हुँदैन । पार्टीको मर्यादा र निर्देशनलाई शिरोधार्य गर्दै गर्दा, संगठन र जनभावना बचाउनका लागि आफ्नो सक्रियता र हस्तक्षेपकारी भूमिकालाई झन् बलियो बनाउनै पर्छ। किनभने, समयले सधैँ पर्खिँदैन र ढिलो गरी आएको चेतको राजनीतिमा कुनै मूल्य हुँदैन ।
✍️अभिमन्यु पान्डे
यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


