२०८३ श्रावण १२ मंगलवार

आजदेखि चितवनमा रास्वपाको प्रथम महाधिवेशन, उद्घाटन सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले गर्ने

७, असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ। भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजना हुने महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ।

तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनमा उद्घाटन सत्रपछि बन्दसत्र सुरु हुनेछ। बन्दसत्रमा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन, महामन्त्री कविन्द्र बुर्लाकोटीको सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन तथा विधान मस्यौदा प्रतिवेदन प्रस्तुत गरिनेछ। विधान मस्यौदा पारित भएपछि महाधिवेशन नयाँ नेतृत्व चयन प्रक्रियामा प्रवेश गर्नेछ।

उद्घाटन समारोहमा संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूलाई पनि आमन्त्रण गरिएको रास्वपाले जनाएको छ। उनीहरूले शुभकामना मन्तव्य दिने कार्यक्रम छ।

महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको रास्वपा प्रवक्ता मनिष झाले बताएका छन्। उनका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोट प्रक्रिया सम्पन्न भइसकेको छ। आवास, यातायात, सुरक्षा, स्वयंसेवक परिचालन तथा स्थल व्यवस्थापनका काम पनि पूरा भएका छन्। महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति गठन गरिएको थियो।

महाधिवेशनको पूर्वसन्ध्यामा शनिबार बसेको केन्द्रीय समितिको बैठकले कार्यतालिका र प्रस्तावित विधान संशोधन अनुमोदन गर्दै महाधिवेशन हलमा पेश गर्ने निर्णय गरेको छ। प्रस्तावित विधानअनुसार १९ पदाधिकारी, १५८ केन्द्रीय सदस्य तथा ३५ सदस्यीय सचिवालय रहने व्यवस्था गरिएको छ।

नयाँ संरचनाअनुसार १५८ केन्द्रीय सदस्यमध्ये ५१ जना सभापतिले मनोनयन गर्न सक्नेछन् भने सातै प्रदेशका सभापति पदेन केन्द्रीय सदस्य रहनेछन्। बाँकी ९९ जना खुला प्रतिस्पर्धाबाट चयन हुने व्यवस्था गरिएको छ। मनोनयन हुने सदस्यहरू समावेशिताका आधारमा चयन गरिने र प्रत्येक प्रदेशबाट कम्तीमा एक महिलासहित पाँच–पाँच जना केन्द्रीय सदस्य रहने प्रावधान राखिएको छ।

रास्वपाले महाधिवेशनमार्फत संगठन सुदृढीकरण, भावी राजनीतिक रणनीति निर्धारण तथा नयाँ नेतृत्व चयनलाई प्राथमिकतामा राखेको जनाएको छ। विधान संशोधन, नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा समेत व्यापक छलफल हुने बताइएको छ।

प्रवक्ता झाले निर्वाचनमा प्राप्त मतलाई पार्टीको ‘आम्दानी’का रूपमा लिइएको उल्लेख गर्दै टोलस्तरसम्म संगठन विस्तार गर्ने व्यवस्था विधानमै समावेश गरिएको बताए। उनले रास्वपाले भ्रातृ संगठन नबनाउने नीति यथावत् राखेको पनि स्पष्ट पारे।

रास्वपाका अनुसार पार्टी सदस्य संख्या पाँच लाख पुगेको छ। सचिवालय सदस्य हरि ढकालले ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको तथा ४ हजार ६३ वडामा संगठनात्मक अधिवेशन सम्पन्न गरिएको जानकारी दिए। उनका अनुसार ६ प्रदेशका ६४ जिल्लाबाट प्रतिनिधि छनोट भइसकेको छ भने मधेश प्रदेश र निर्वाचन हुन बाँकी रहेका १३ जिल्लाबाट तदर्थ समितिमार्फत प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

महाधिवेशनका अवसरमा भरतपुर रास्वपाका झण्डा तथा ब्यानरले सजिएको छ। स्थानीयवासीले समेत सहभागीहरूलाई स्वागत गरिरहेका छन्।

रवि लामिछानेले २०७९ असार ७ गते रास्वपाको घोषणा गरेका थिए। स्थापनाको चार वर्ष पूरा भएको अवसरमा पार्टीले आफ्नो पहिलो महाधिवेशन आयोजना गरेको हो।

२०८३ असार ७, आईतवार प्रकाशित 0 Minutes 105 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।