२०८३ जेष्ठ ३० शनिबार

पत्रकारको क्षमता अभिवृद्धिका लागि खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम सम्पन्न

सिन्धुली, पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ।

हरिहरपुरगढी गाउँपालिकाको आर्थिक सहयोगमा सिन्धुलीमाढीमा सञ्चालन गरिएको उक्त तालिम शुक्रबार एक कार्यक्रमबीच समापन गरिएको हो। तालिममा जिल्लाका विभिन्न सञ्चार माध्यममा आबद्ध ३० जना पत्रकार तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो।

समापन कार्यक्रममा बोल्दै हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेले लोकतान्त्रिक समाज निर्माणमा जिम्मेवार, निष्पक्ष र तथ्यमा आधारित पत्रकारिताको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले पत्रकारहरूको क्षमता विकास तथा सञ्चार क्षेत्रको सुदृढीकरणका लागि आगामी दिनमा पनि स्थानीय तहबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटाले बदलिँदो सञ्चार परिवेशमा पत्रकारहरूलाई खोजमूलक रिपोर्टिङ तथा डिजिटल सामग्री उत्पादनमा सक्षम बनाउन तालिम आयोजना गरिएको जानकारी दिनुभयो।

तालिमका क्रममा वरिष्ठ पत्रकार शिव गाउँलेले खोज पत्रकारिताको अवधारणा, अनुसन्धान प्रक्रिया, सूचना सङ्कलनका विधि तथा व्यावहारिक चुनौतीबारे प्रशिक्षण दिनुभएको थियो।

त्यसैगरी राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे नेपाल) का केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय समाचार समितिका वरिष्ठ फोटो पत्रकार प्रदीपराज वन्तले फोटो तथा भिडियो सम्बन्धी र फोटो पत्रकारिताका आधारभूत सिद्धान्त, समाचार फोटो खिच्ने तरिका, फोटो संरचना तथा क्याप्सन लेखनबारे प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणमा एनएफपीजे नेपालका वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठले पनि प्रशिक्षणको भूमिका निर्वाह गर्नुभएको थियो। यस्तै राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाका सचिव प्रेम थापाले भिडियो निर्माण, सम्पादन तथा डिजिटल सामग्री प्रस्तुतीकरणसम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गर्नुभएको थियो।

आयोजकका अनुसार उक्त तालिमले सहभागी पत्रकारहरूलाई खोजमूलक समाचार उत्पादन, प्रभावकारी दृश्य सामग्री निर्माण तथा आधुनिक पत्रकारिताका सीप विकासमा महत्वपूर्ण सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

२०८३ जेष्ठ ३०, शनिबार प्रकाशित 0 Minutes 33 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार