२०८१ पुष ८ सोमबार

लेबनान र इजरायलका नेपालीको अवस्थाबारे बुझेर आवश्यक सहयोग गर्न परराष्ट्रमन्त्रीको निर्देशन

२० असोज, काठमाडौं। परराष्ट्रमन्त्री आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरुको अवस्थाका बारेमा जानकारी लिएर ‘अपडेट’ भइरहन त्यहाँस्थित नेपली दूतावासहरुलाई निर्देशन दिएकी छन ।
ती देशमा अवस्थित नेपाली राजदूतहरुसँग आज मन्त्रालयबाट भर्चुअल बैठक गरी उनले इजरायल र लेबनानमा विकसित पछिल्लो परिस्थितिका बारेमा जानकारी लिएकी थिइन।

सो बैठकमा मन्त्री राणाले पछिल्लो समयमा विशेषगरी लेबनानमा विकसित परिस्थितिका कारण त्यहाँ रहेका नेपालीको अवस्थाबारे नेपालमा चिन्ता बढिरहेकाले उहाँहरु र उहाँका परिवारको सम्पर्कमा रहेर आवश्यक सहयोग गर्न निर्देशन दिएकी हुन ।

सो बैठकमा मन्त्री राणाले कुनै पनि प्रकारले त्यहाँ रहेका सबै नेपालीहरुको सम्पर्कमा पुग्न र कोही तत्कालै स्वदेश फर्कनका लागि सहयोग चाहनेहरुकालागि समन्वय गरि त्यहाँबाट नेपाली नागरिकको उद्धार गरेर स्वदेश ल्याउनुपर्ने अवस्थामा त्यसका लागि पनि आवश्यक गृहकार्य गर्न दूतावासलाई निर्देशन दिइन।

मन्त्री राणाले सम्बन्धित देशका दूतावासहरुलाई सूचना जारी गरी सम्पर्क व्यक्ति तोक्न र आवश्यकताअनुसारका हेल्पडेस्क स्थापना गरेर समस्यामा परेका नेपालीहरुलाई आवश्यक सहायता र समन्वय प्रदान गर्न निर्देशन दिइन ।

इजिप्टका लागि नेपाली राजदूत सुशिल लम्सालले लेबनानको पछिल्लो अवस्थाको जानकारी गराउँदै त्यहाँ रहेका नेपालीहरुलाई अहिले नै त्यस्तो कुनै समस्या नरहेको बताए ।

त्यहाँ हाल करिब एक हजार २०० नेपाली रहेका अनुमान गरिएको र उहाँहरुमध्ये अधिकांश घरायसी काममा रहेका जानकारी दिँदै दूतावासले जारी गरेको सूचनाका आधारमा तीन जना मात्र सम्पर्कमा आउनुभएको र उहाँहरु पनि बेरुतमा सुरक्षित रहेको जानकारी दिएको लम्सालले बताए। हाल कुनै पनि नेपालीले आफूलाई समस्या परेको भनी रिपोर्टिङ नगर्नुभएको तर नेपालमा रहेका आफन्तहरु बढी चिन्तित हुनुभएको पनि उनले जानकारी दिए।

त्यसैगरी इजरायलका लागि नेपली कार्यबाहक राजदूत कुमार श्रेष्ठले इजरायलको अवस्था सामान्य रहेको र त्यहाँ रहेका करिब चार हजार ५०० नेपाली सुरक्षित रहेको जानकारी दिए ।
त्यस्तै पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए ।

२०८१ आश्विन २०, आईतवार प्रकाशित 0 Minutes 54 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार