२३ कार्त्तिक, काठमाडौं । चर्चित गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल सिजन ६’ मा कोचमा फेरि हेरफेर भएको छ। सुरुदेखि नै कोचको रुपमा देखिंदै आएका गायक प्रमोद खरेल यो सिजनमा हुनेछैनन् ।
कोचको रुपमा गायकद्वय उदय सोताङ र राजु लामाको पुनरागमन भएको छ । यसअघि ‘भ्वाइस किड्स’मा कोच बनेकी गायिका मेलिना राईले भ्वाइसमा इन्ट्री गरेकी छन् ।
चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी पनि नयाँ सिजनमा कोचको रुपमा अनुबन्धित भएका छन् । लोकदोहोरी क्षेत्रका यी सर्वाधिक व्यस्त गायकले भ्वाइसमा कोचको रुपमा दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।
भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले चारैजना कोचको टुंगो लागेको बताए । आइतबारदेखि ब्लाइन्ड अडिसन सुरु हुने र १२० जना प्रतिस्पर्धीले यो राउण्डमा प्रतिस्पर्धा गर्ने निर्देशक पौडेलले जनाए ।
नियमहरु पनि पहिलेकै यथावत् रहने भनिएको छ । भ्वाइस अफ नेपालको छैटौं सिजन मंसिर अन्त्यदेखि हिमालय टिभीमा प्रसारण हुने जनाइएको छ ।
यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।