मंसिर १७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि दुई लाख ५० हजार महिलाको परीक्षण तथा रोग पहिचान गर्ने भएको छ ।
मन्त्रालयअन्र्तगतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुखको क्यान्सर भए नभएको परीक्षण गर्ने भएको छ ।
यसैअनुसार फागुन महिनाभर देशैभर एकै साथ महिलाहरुमा क्यान्सरसम्बन्धी परीक्षण गर्न लागिएको महाशाखा प्रमुख डा. विवेककुमार लालले जानकारी दिए ।
‘क्यान्सरको उपचारसँगसँगै लाग्न नदिन समयमै परीक्षण गरी रोकथाम गर्ने मन्त्रीज्यूको प्राथमिकता छ,’ लालले भने, ‘त्यसैअनुसार यस वर्ष अभियानकै रुपमा एकै साथ परीक्षण गर्न लागेका हौं ।’
यस वर्ष अभियानका रुपमा दुई लाख ५० हजार महिलाको परीक्षण गरिने उनले जानकारी दिए ।
क्यान्सरबिरुद्ध १६ लाख किशोरीलाई निःशुल्क खोप यसअघि मन्त्रालयले मन्त्री पौडेलकै योजनाअनुसार विश्व क्यान्सर दिवसका दिन माघ २२ गतेबाट दुई सातासम्म १६ लाख किशोरीहरुलाई पाठेघरको क्यान्सरविरुद्धको निःशुल्क खोप अभियानसमेत सञ्चालन गर्दैछ ।
कक्षा ६ अध्ययनरत वा १० वर्षका बालिकालेसमेत यो खोप लगाउन पाउनेछन् । आगामी वर्षबाट भने सबै किशोरीले नियमित रुपमा खोप लगाउन पाउने गरी व्यवस्था गरिएको प्रवक्ता डाक्टर बुढाथोकीले जानकारी दिए ।
यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।