
माघ २१, काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालस्थित इजरायली राजदूत श्मुलिक आरी बासले शिष्टाचार भेट गर्नुभएको छ। आज (सोमबार) सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा आईराजदूत श्मुलिकले शिष्टाचार भेट गर्नुभएको हो।
भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा कुराकानी भएको थियो।



सो अवसरमा अध्यक्ष दाहालले नेपाल–इजरायल कूटनीतिक सम्बन्ध घनिष्ट रहेको चर्चा गर्दै आगामी दिनमा पनि दुई देशबीचको सम्बन्ध थप मजबुत र बलियो हुने विश्वास व्यक्त गर्नुभयो।
नेपाल शान्तिको पक्षधर राष्ट्र भएको भन्दै अध्यक्ष दाहालले भन्नुभयो, “हामी सधैं मध्यपूर्वमा शान्ति, अमनचयन र स्थिरताको पक्षमा छौं। संयुक्त राष्ट्रसंघ लगायतका बहुपक्षीय मञ्चहरुमा नेपाल र इजरायलबीच हुने गरेका आपसी सहयोगले दुई देशको सम्बन्ध थप मजबुत बनाएको छ।”
इजरायलले शुरु गरेको लर्न एण्ड अर्न कार्यक्रम नेपालहरुका लागिनिकै प्रभावकारी भएको र त्यस्ता कार्यक्रममा गएका नेपालीहरुले कृषि प्रविधिको राम्रो ज्ञान प्राप्त गरि स्वदेश फर्केर राम्रो प्रगति गरेको बताउनु भयो। लर्न एण्ड अर्न कार्यक्रममा इजरायल पुगेका नेपालीविद्यार्थीहरुमाथि गत वर्ष भएको घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष दाहालले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको छिटो रिहाइका लागि पहल गर्न आग्रह गर्नुभयो। अध्यक्ष दाहालले अहिले पनि करिब ४ हजार नेपाली श्रमिकहरु इजरायलमा रहेको उल्लेख गर्दै उनीहरुको सुरक्षा र रोजगारीका विषयमा चासो व्यक्त गर्नुभएको थियो।
लामो द्वन्द्वपछि नेपालमा शान्ति प्रक्रिया टुङ्गोमा पुग्न लागेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाल अब आर्थिक समृद्धिको बाटोमा लागेको र त्यसका लागि इजरायल सरकारको महत्वपूर्ण सहयोग आवश्यक रहेको बताउनु भयो।
इजरायलबाट नेपालमा उल्लेख्य पर्यटकहरु आउने गरेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा जतिसक्यो धेरै इजरायली नागरिकहरुलाई नेपाल भ्रमणका लागि पहल गरिदिन र नेपालको पर्यटन प्रवद्र्धन गर्नमा योगदान गर्न पनि आग्रह गर्नुभयो।
सो अवसरमा इजरायली राजदूत श्मुलिकले इजरायल र नेपालको सम्बन्ध निकै घनिष्ट रहेको चर्चा गर्दै नेपालको कला, संस्कृति, परम्परा र पर्यटकीय स्थलहरुका हिसाबले निकै धनी रहेको बताउनु भयो।
राजदूत श्मुलिकले गत वर्ष अर्न एण्ड लर्न कार्यक्रममा इजरायल पुगेका विद्यार्थीहरुमाथि भएको घटना निकै दुखद भएको बताउनु भयो। हमाससँगको वार्तासँगै युद्धविराम भएको र हमासले बन्धक बनाएका नागरिकहरुको रिहाइ भइरहेको चर्चा गर्दै राजदूत श्मुलिकले अहिले अवस्था बदलिएको जानकारी दिनुभयो।
हमासको आक्रमणलगत्तै नेपाल, थाइल्याण्ड र फिलिपिन्सले आफ्ना विद्यार्थीको उद्धार गरि ल्याएकोमा अहिले थाइल्याण्ड र फिलिपिन्सका विद्यार्थीहरु इजरायल फर्किसकेको जानकारी दिदै राजदूत श्मुलिकले अब त्यस्तो घटना नदोहोरिने र उनीहरुको सुरक्षाको जिम्मा इजरायल सरकारले लिने बताउनु भयो। उद्धार गरि ल्याइएका नेपाली विद्यार्थीहरु इजरायल जान इच्छुक भएको र दुतावासको सम्पर्कमा आइरहेकाले नेपाल सरकारले उनीहरुलाई पठाउन पहल गरोस् भन्ने आफूहरुको चाहना रहेको बताउनु भयो।
हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशीलाई छुटाउन आफूहरुले निरन्तर पहल गरिरहेको भन्दै राजदूत श्मुलिकले आज बिहान मात्रै विपिनका बुवालगायत परिवारका सदस्यहरुलाई भेटेको बताउनु भयो।
इजरायलको अवस्था परिवर्तन भइसकेको र अहिले शान्तिपूर्ण रहेको भन्दै उहाँले कृषि, पर्यटन, स्वास्थ्य र निर्माणका क्षेत्रमा नेपाली कामदारहरुलाई इजरायलले लिन चाहेको बताउनु भयो। कृषि क्षेत्रमा इजरायलमा गएर सीप सिकेका नेपालीहरुले स्वदेशमा फर्केपछि राम्रो काम गरिरहेको र आफ्नो क्षेत्रमा सफल बनेको आफूले थाहा पाएको राजदूत श्मुलिकले बताउनु भयो।
यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।