
१७ फागुन, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाडौं जिल्लाका अधिवेशन सम्पन्न वडा समितिका निर्वाचित पदाधिकारी एवं सदस्यहरुको शपथ ग्रहण कार्यक्रम शुक्रबार पार्टीको केन्द्रीय कार्यालय, वनस्थली, काठमाडौंमा सम्पन्न भएको छ । काठमाडौं जिल्ला समितिको आयोजनामा सम्पन्न सो कार्यक्रममा काठमाडौंका ४१ वडाका २९५ निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई काठमाडौं जिल्ला सभापति प्रदीप बिष्टद्वारा सामूहिक शपथ ग्रहण गराइयो ।
उक्त कार्यक्रममा सम्बोधन गर्नुहुँदै पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्यालले वडा अधिवेशनबाट निर्वाचित सबै पदाधिकारी तथा सदस्यहरुलाई आफ्नो जिम्मेवारी इमान्दरीपूर्वक निर्वाह गर्न निर्देशन दिनुभयो । साथै समाजको लागि केही गर्छु भनेर राजनीतिमा आउनुभएका युवाहरुलाई सशक्त ढंगले अघि बढ्न अनुरोध गर्नुभयो ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले आम जनताको भावना अनुसार काम गर्न वडा समितिले गर्नुपर्ने कामहरु थुप्रै रहेको उल्लेख गर्दै कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले वडा समितिले वडा स्तरमा प्रशिक्षण कार्यक्रम, स्थानीय विकासका योजनाहरु तथा वडाका गतिविधिहरुको अनुगमन लगायका थुप्रै कामहरु गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा केन्द्रीय सदस्य, संसदीय दलका उपनेता एवं सांसद विराजभक्त श्रेष्ठले निर्वाचित सबै सदस्यहरुलाई शुभकामना दिँदै ८४ को निर्वाचनमा रास्वपालाई नम्बर १ पार्टी बनाउने गरी सबैले पार्टी हितको लागि काम गर्नुपर्ने बताउनुभयो । सो अवसरमा बाग्मति प्रदेश सभापति डा. अच्तुतम लामिछाने लगाएतका नेताहरुले मन्तब्य राख्नुभएको थियो ।
हालसम्म काठमाडौं जिल्लाका कूल १३८ वडाहरूमध्ये ८१ वटा वडामा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा अधिवेशन सम्पन्न भई वडा समिति गठन भएको छ ।


