२०८१ चैत्र ३१ आईतवार

दुर्गा प्रसाईंलाई झापाबाट फ्लाइटमा काठमाडौँ ल्याइयो

२९ चैत, काठमाडौं । भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका दुर्गा प्रसाईंलाई भद्रपुर विमानस्थलबाट आज बिहान  फ्लाइटमा काठमाडौँ ल्याइएको छ । काठमाडौँको तीनकुनेमा दुई जनाको ज्यान जाने गरी हिंसा मच्चाएर भारत भागेका दुर्गा प्रसाईंलाई आज नेपाल प्रहरीले काँकडभिट्टा नाकाबाट आजै नेपाल भित्र्याइएको थियो । प्रसाईंलाई  केन्द्रीय प्रहरी विशेष ब्युरोबाट खटिएको टोलीले झापाको चन्द्रगढी विमानस्थलहुँदै काठमाडौं ल्याएको हो । प्रसाईंले बिहीबार  भारतमा आत्मसपर्मण गरेपछि नेपाल प्रहरीले सीमा क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको बताइएको छ । राजसंस्था पुन:स्थापनाका लागि भन्दै नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा हिंसात्मक प्रदर्शन गर्दा रिपोर्टिङ गरिरहेका पत्रकारसहित २ युवक मारिएका थिए भने तोडफोड, आगजनी र लुटपाटबाट करोडौँ मूल्यकाे क्षति भएको थियो।  प्रसाईं त्यस समितिअन्तर्गतका जनकमान्डर हुन्। तर हिंसा चर्किएपछि उनी लगत्तै फरार भएका थिए।

त्यही घटनामा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवलशमशेर राणासहित ७३ भन्दा बढी आरोपितलाई पक्राउ गरिसकेको छ।

प्रसाईं भारततिर भागेको सूचना पाएपछि प्रहरीले विभिन्न माध्यमबाट ‘लोकेसन’ पत्ता लगाएको थियो। फरार भएयता उनले दुईवटा भिडिओ सन्देश सामाजिक सञ्जालमा अपलोड गरेका थिए। तर त्यसमा उनले आफू नेपालमै रहेको दाबी गरेका थिए।

प्रसाईं भागेलगत्तै नेपाल प्रहरीको विशेष ब्युरोको टोली पछ्याउँदै पुगेको थियो।

विशेष सूचनाका आधारमा ब्युरोको टोली भारतमा उनी रहेको स्थानको नजिक पुगिसकेको थियो। प्रहरी पुगेको सुइँको पाएपछि त्यहाँबाट पनि भागेर उनी सामाजिक सञ्जालसमेत नचलाएर उनी गुपचुप बसेका थिए।

तर बुधबार उनले सामाजिक सञ्जालमा अर्को भिडिओ राखेर आफू भागेको नभई असुरक्षित रहेका कारण जोगिएको बताएका थिए।

२०८१ चैत्र २९, शुक्रबार प्रकाशित 0 Minutes 9 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार