
२९ चैत, काठमाडौँ । प्राध्यापक डाक्टर मोहनप्रसाद तिमल्सिनाको सम्मानार्थ धादिङको त्रिपुरासुन्दरी गाँउपालिकाद्वारा प्रकाशित अभिनन्दन ग्रन्थ लोकार्पण भएको छ ।
काठमाडौँमा एक समारोहकाबीच कृषि तथ पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले अभिनन्दन ग्रन्थ लोकार्पण गरेका हुन । ग्रन्थलाई डाक्टर नविनबन्धु पहाडी, डाक्टर मुरारी अधिकारी र डाक्टर मोहनबहादुर कडेलले सम्पादन गरेका छन ।



लोकार्पण समारोहमा सम्पादक मण्डलको तर्फबाट आफ्नो धारणा राख्दै साहित्यकार तथा धादिङ निलकण्ठ बहुमुखी क्याम्पसका उपप्राध्यापक पहाडीले त्रिपुरासुन्दरी गाँउपालिकाको भूगोलमा जन्मेर प्रा.डा. तिमल्सिनाले यस स्थानीय तह र जिल्लाको मात्र नभइ मुलुककै स्थापित व्यक्तित्यको रुपमा आफ्नो परिचय बनाउन सफल रहनु भएको चर्चा गरे। साथै उनले विश्वविद्यालयमा प्राध्यापन कार्य तथा साहित्य सिर्जनामा प्रा.डा. तिमल्सिनाले अतुलनिय योगदान पुर्र्याएको उल्लेख गरे। यस्ता व्यक्तित्वको विषयमा लेखिएको ग्रन्थको सम्पादन गर्न पाउदा आफुहरु पुलकित रहेको तथा स्थानीय तहले पनि यसरी कला, साहित्य तथा दर्शन र अनुशन्धानको क्षेत्रमा लागेका व्यक्तिको विषयमा ग्रन्थ प्रकाशनका लागि अग्रसरता देखाउनु पुनीत कार्य भएको पहाडीको भनाइ थियो ।
लोकार्पण कार्यक्रममा कृषि मन्त्री तथा यसै पालिका समेत समेटिएको धादिङ-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामनाथ अधिकारीले शिक्षा र साहित्यको क्षेत्रमा मात्र नभएर राजनीतिक, सास्कृतिक र जनजागरणका लागि प्रा.डा. तिमल्सिनाले पूर्र्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरे । साथै उनले त्रिपुरासुन्दरी गाँउपालिकाले गरेको यो प्रशंसनिय कार्यको अनुशरण अरु स्थानीय तहहरुले पनि गर्नुपर्ने बताए ।
त्रिपुरासुन्दरी गाँउपालिकाका अध्यक्ष राजु उप्रेतिले आफ्नो पालिकामा पर्ने क्षेत्रमा जन्मेर शिक्षा र सहित्य तथा सस्कृति संरक्षणमा योगदान पूर्र्याएका व्यक्तित्वका बारेमा यसरी पुस्तकको प्रकाशनमा सहयोग गर्न पाँउदा खुसी लागेको बताए । साथै उनले कला र सस्कृतिको जगेर्ना गर्न आफु सधैँ अग्रसर रहेको स्मरण गराउदै एक राष्ट्रिय व्यक्तित्वका रुपमा स्थापित प्रा.डा. तिमल्सिनाको योगदानको अभिलेखिकरण गर्नु गराउनु स्थानीय तहको जिम्मेवारी समेत रहेकाले आफुहरुले यो पहलकदमी लिएको बताए ।
कार्यक्रममा प्रा.डा. तिमल्सिनाले आफ्नो गुण, गरिमा र जिवनगाथाका बारेमा यसरी पुस्तक प्रकाशन गरिदिएर आफुले गरेका कार्यहरुको अभिलेखिकरणमा सहयोग गरेको प्रति सम्पादन मण्डल र गाँपालिकालाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा प्रा.डा. तिमल्सिनालाइ बिभिन्न कोणबाट चिनेका, जानेका तथा संगत गरेका र पारिवारिक व्यक्तिहरुले उनका विषयमा चर्चा गरेका थिए । नन्दकृष्ण जोशी, बासु तिमल्सिना, तिलक रुवाली, शैलेन्द्र सिंमखडा, हरिविनोद अधिकारी, हरिसिंह केसी लगायतले प्रा.डा. तिमल्सिनाको योगदान तथा सम्पादन मण्डलले ग्रन्थ तयार गर्नका लागि देखाएको अग्रसरता र पालिकाले पुर्र्याएको सहयोगको प्रशंसा गरेका थिए ।
१ सय ४४ पृष्ठको ग्रन्थमा २४ जना स्रष्टा तथा प्रा. डा. मोहनप्रसाद तिमल्सिनाका पारिवारिक सदस्यहरुले आफ्नो धारणा, अनुभव तथा उनको गुण गाथाको चर्चा गरेका छन ।
यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।