२०८२ बैशाख १२ शुक्रबार

१० ‌‌‍औँ भूकम्प स्मृति दिवस मनाइँदै

१२ वैशाख, काठमाडौँ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, हिजो बिहीबार साँझ सात बजेर ३४ मिनेटको समयमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गयो ।

रुकुमपूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पश्चिम नेपालमा लगातार गइरहेको भूकम्पमध्येको पछिल्लो हो । भूकम्प स्मृति दिवस मनाउन लागिएको अघिल्लो दिन नै रुकमुपूर्वमा सामान्य प्रकृतिको भूकम्प गएको हो ।

पश्चिम नेपालमा पछिल्ला दिनमा साना प्रकृतिका भूकम्प लगातार गइरहेका छन् । विसं २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो ।  त्यसपछि पनि लगातार जाजरकोटका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गइरहेका छन् ।

आज वैशाख १२ गते । विसं २०७२ वैशाख १२ गते अर्थात् आजभन्दा ठीक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो ।

सात दशमलव छ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए । सोही विनाशकारी भूकम्पको स्मृतिमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । सुरक्षित पूर्वाधार निर्माणका लागि सचेतना जगाउने उद्देश्यका साथ आज भूकम्प स्मृति दिवस मनाउन लागिएको हो ।

काठमाडौंको सुन्धारामा अवस्थित धरहरा परिसरमा आज भूकम्प स्मृति दिवसको विशेष कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यता रहने छ । ‘सुरक्षित पूर्वाधार निर्माण गरौं, भूकम्पबाट जोगिऔ’ भन्ने सन्देश दिनका लागि भूकम्प स्मृति दिवस मनाउन लागिएको हो ।

त्यस्तै २०७२ सालको बारपाक केन्द्रबिन्दु बनाएर गएको ‘गोरखा भुकम्प’को सम्झनामा गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै वैशाख १२ गते पालिका अन्तरगतका सरकारी, गैरसरकारी संस्थाका कार्यालय, विद्यालय तथा स्वास्थ्यचौकीहरु बन्द हुने जनाएको छ । साथै उक्त दिन गाउँपालिकाले विभिन्न कार्यक्रम जसमा गाउँपालिका वडा न १ बारपाकको हिमालय मा.विको प्राङगणमा श्रदाञ्जली कार्यक्रम गर्ने तयारी गरिएको छ ।

उक्त कार्यक्रममा भूकम्प सम्बन्धी फोटो प्रदर्शनी तथा जनचेतनामूलक कार्यक्रम समेत हुने बताइएको छ । कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं गोरखा क्षेत्र नम्बर २ का सांसद पुष्पकमल दाहाल, पूर्व उपप्रधानमन्त्री एवं राष्टिय सभा सदस्य नारायणकाजी श्रेष्ठ, गण्डकी प्रदेशका मुख्यमन्त्री एवं गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’का सांसद सुरेन्द्रराज पाण्डे लगायतले संबोधन गर्ने कार्यक्रम रहेको छ । केन्द्रबिन्दु बारपाकमा वर्षेनी स्मृति दिवश मनाउने गरिएको छ ।

२०८२ बैशाख १२, शुक्रबार प्रकाशित 0 Minutes 7 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार