२०८२ जेष्ठ ९ शुक्रबार

केआईआईटीमा फेरि अर्की नेपाली विद्यार्थी मृत भेटिइन्

१९ वैशाख, काठमाडौँ । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली विद्यार्थी मृत फेला परेकी छिन् ।

वीरगञ्ज घर भएकी प्रिशा शाह बिहीबार बेलुकी करिब ८ बजे होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर, एसएसपी सञ्जीव शर्मा दासले घटनाको पुष्टि गरे । उनले भने, ‘वीरगञ्ज घर भएकी प्रिशा शाह बिहीबार बेलुकी करिब ८ बजेतिर मृत फेला परेकी छन् । घटनाको अनुसन्धान सुरु भएको छ ।’

प्रिशाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जानकारी दिएको छ । तर, परिवारका सदस्य आएपछि मात्र पोष्टमार्टम गरिनेछ भनेर अस्पतालले बताएको पनि दूतावासले जनाएको छ ।

शाह वीरगञ्ज निवासी प्रथम वर्षमा अध्ययनरत् विद्यार्थी भएको बताइएको छ।

गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् ।

आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, कलेजले गम्भीरतापूर्वक नलिँदा उनले मृत्युको बाटो रोजेकी थिइन् ।

त्यसपछि प्रकृतिको न्याय माग्दै क्याम्पसमा नेपाली विद्यार्थीले गरेको प्रदर्शनमा कलेज प्रशासनले दमन गरेको थियो । कलेज प्रशासनको निर्देशनमा सुरक्षागार्डले नेपाली विद्यार्थीमाथि निर्घात कुटपिट गरेका थिए भने प्रशासनले होस्टल छाडेर जान निर्देशन दिएको थियो । घटना बढ्दै जाँदा तनावको स्थिति पैदा भएको थियो ।

यता परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी मृत फेला परेको समाचारले आफुलाई मर्माहत बनाएको बताएकी छन् । साथै उनले परराष्ट्र मन्त्रालयले भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको जनाएकी छन् ।

 

२०८२ बैशाख १९, शुक्रबार प्रकाशित 1 Minute 42 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार