२०८२ जेष्ठ ९ शुक्रबार

विश्व व्यवस्था तीब्र रुपमा परिवर्तन हुदैछ,’ पूर्वप्रधानमन्त्री भट्टराई

५ जेठ, काठमाडौं। कुटनीति र अन्तर्राष्ट्रिय मामिलामा महत्वपूर्ण भूमिका खेल्नको लागि नेपालमा आइतबारबाट एम्बास्डर्स क्लब र इन्टरनेशनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) को सुरुआत भएको छ । सोही अवसरमा नेपालको पहिलो कूटनीतिक पत्रिका तथा मिडिया प्लेटफर्म ‘द डिप्लोम्याट नेपाल’ पनि सार्वजनिक गरिएको हो । 

कार्यक्रमका प्रमुख अतिथि तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आईआरजीडीडी, एम्बास्डर्स क्लब र ‘द डिप्लोम्याट नेपाल’ म्यागेजिनको शुभारम्भले विश्वमा भइरहेको परिवर्तनमा नेपालले एक महत्वपूर्ण भूमिका रहने बताएका छन् । उनले भने,‘वैश्विक व्यवस्था तीव्र रूपमा परिवर्तन हुदैछ । र, नेपाल अब किनारामा बस्न सक्दैन । शान्ति, सक्रिय सार्वभौमिकता र न्यायमा आधारित योगदानहरुको लागि हुने प्रयास एक समयानुकूल र आवश्यक कदम हो ।’ 

डा. भट्टराईले तीन संस्थाहरुले नेपालले यस्तो सफ्ट पावर उपलब्ध गराउने बताए । उनले  विश्वास निर्माण र दूरदर्शिता तथा समावेशी सोचमा आधारित परराष्ट्र नीति निर्माण हुने उल्लेख गरे । उनले भने,‘यी प्लेटफर्महरूले श्रमिक अधिकार, जलवायु परिवर्तन, महिला र युवाको सशक्तिकरणजस्ता गम्भीर मुद्दाहरूमा आवाज उठाउछन् । केवल प्रतिक्रिया होइन, नेपालको भविष्य निर्माणमा सक्रिय सहभागिता जनाउँछन् ।’ 

 

कार्यक्रममा अम्बासडर्स क्लब र आईआरजीडीडीकी अध्यक्ष तथा पूर्वराजदूत डा. शर्मिला पराजुली ढकालले महत्वपूर्ण संस्थाहरुको उद्घाटन केवल सुरुवात मात्र नभई यात्राको थालनी भएको बताइन् । ‘यो यात्रा नेपाललाई विश्व संवादको केन्द्रमा पुर्याउने यात्रा हो । नेपालको आवाज, शान्ति र सहनशीलतामा आधारित, अब विश्व मञ्चमा गुञ्जिनेछ । साना राष्ट्रहरू उभिनुपर्छ । द्वन्द्वमा होइन, दृढतामा । हामी स्पष्ट भाषामा बोल्नुपर्छ, सहानुभूतिसाथ संवाद गर्नुपर्छ र साहसका साथ अघि बढ्नुपर्छ । विश्व परिवर्तनको सामना गर्दै हामीले त्यसमा आफ्नो भूमिका खेल्नुपर्छ, केवल प्रतिक्रिया होइन ।’ 

पूर्व राजदूत डा. ढकालले भनिन्,‘हामी विश्वासको यस्तो वृत बनाउने कल्पना गर्छौं जहा विचारहरू स्वतन्त्र रूपमा बहस गरिन्छन् र साना वा ठूला सबै आवाजहरू सुन्छ । मलाई गर्वका साथ भन्नु छ कि सबै राजदूतहरू, मिशन प्रमुखहरू र कूटनीतिक समुदायका सदस्यहरू यो साझा दृष्टिकोणको हिस्सा छन् ।’  

 

उनले थपिन्, ‘यो क्षण शान्ति, संवाद र साझा प्रगतिप्रति हाम्रो अडिग प्रतिबद्धता झल्काउछ । कूटनीतिज्ञका रूपमा, नेपालले न केवल आफ्नो लागि, तर समानता र समझदारीको खोजीमा लागेकाहरूका लागि स्पष्ट र आत्मविश्वासी आवाज बन्नुपर्छ ।’ 

 

उनले कूटनीति समावेशी हुने पर्ने बताइन् । ‘कुटनीतिले रंग, सीमा वा हैसियत पछ्याउदैन । यसले मूल्य पछ्याउछ । हामी एउटै आवाजमा बोल्छौं । र, यसै वाचा साथ, नेपाललाई नक्शाभन्दा माथि उठाई विश्वका लागि आवाज बनाउने अठोट गर्दछौं ।’

 

पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपालले गर्ने प्रत्येक निर्णयले केवल नीति मात्र होइन, हाम्रो पहिचान, इतिहास र अस्तित्वसँग सम्बन्धित गम्भीर प्रश्नहरूलाई सम्बोधन गर्नु पर्ने बताए । उनले भने,‘आज नेपालको सबैभन्दा महत्वपूर्ण कार्य भनेको आफ्नो उपस्थितिलाई पुनः परिभाषित गर्नु हो — निष्क्रियताबाट होइन, रणनीतिक संलग्नता, बहुपक्षीय साझेदारी र स्पष्ट कूटनीतिक आवाजमार्फत। त्यो चुनौतीको उत्तर हो । यस्तो प्लेटफर्म जहा नेपाल अरूबाट प्रतिनिधित्वको पर्खाइमा बस्दैन, तर दृढता, उद्देश्य र सिद्धान्तसाथ आफैं बोल्छ ।”

 

यसैगरी, पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले आईआरजीडीडी र एम्बास्डर्स क्लबलाई ‘समय सापेक्ष र रूपान्तरणकारी’ प्लेटफर्मको रूपमा व्याख्या गर्दै भनिन्, `विश्व आपसमा जटिल संकट र जलवायु संवेदनशीलतासग जुझिरहेको अवस्थामा यस्ता पहलहरू नेपालका लागि महत्त्वपूर्ण छन् । केवल चुनौती सामना गर्न होइन, अन्तर्राष्ट्रिय कूटनीतिमा नेपालको भूमिका सशक्त बनाउन पनि ।’ 

 

उनले थपिन्, `संयुक्त राष्ट्रसंघको शान्ति स्थापनादेखि लिएर वैश्विक वकालत र सैद्धान्तिक परराष्ट्र नीतिसम्म नेपालको योगदान उल्लेखनीय छ। नेपालको प्राचीन सांस्कृतिक सम्पदा विश्व मञ्चमा नैतिक र कूटनीतिक नेतृत्वका लागि अद्वितीय स्थान दिन्छ ।’ 

रास्वपाका कार्यवाहक अध्यक्ष डीपी अर्यालले भने, ‘यी पहलहरूले नेपाल र विश्वमा भइरहेको जटिल कूटनीतिक अभ्यास सुधार्न मद्दत गर्नेछन् । अहिलेको समयमा जलवायु संकट, एआई र आप्रवासनका चुनौतीसँग जुझिरहँदा परम्परागत अभ्यासलाई नया अभ्यासले प्रतिस्थापन गर्नुपर्छ । यी पहलहरूले नया विचारहरू ल्याउन र प्रवद्र्धन गर्न प्रमुख भूमिका खेल्नेछन् ।’ 

 

डिप्लोम्याटिक कोप्र्सकी डीन तथा नेपालका लागि इजिप्टकी राजदूत नोहा हाम्दी अहमदले आयोजक समिति तर्फबाट धन्यवाद ज्ञापन दिदै भनिन्, ‘आईआरजीडीडी, एम्बास्डर्स क्लबले अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवद्र्धन गर्ने एक महत्वपूर्ण प्लेटफर्म प्रदान गर्छ, जसले कूटनीतिज्ञहरूलाई अनुभव र ज्ञान साट्न सहयोग पुर्याउँछ। साथै, द्विपक्षीय र बहुपक्षीय कूटनीति प्रवद्धनमा पनि सहायक हुनेछ ।’

 

उनले नेपाली कूटनीतिक परम्पराको प्रशंसा गर्दै भनिन्, ‘नेपालको कूटनीति पेशागतता, आत्मीयता र आतिथ्यतामा आधारित छ । जसले नेपाललाई शान्ति प्रवद्र्धन तथा वैश्विक चुनौतीहरूप्रति न्यायसंगत रूपमा भूमिका खेल्न सक्षम बनाएको छ ।’

संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक–नेपाल हाना सिंगर हाम्दीले भनिन्, ‘विनाशका दिनहरूपछि अब उत्सव मनाउने समय आएको छ । तपाईहरुले हामीलाई प्रेरित गराउने तीनवटा कारण लिएर आउनु भएको छ ।’

 

कार्यक्रममा प्रमुख अतिथि डा. भट्टराई, गृहमन्त्री रमेश लेखक, पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला, पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, एम्बास्डर्स क्लब र आईआरजीडीडीकी अध्यक्ष डा. ढकाल, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक अध्यक्ष डीपी अर्याल, ‘द डिप्लोम्याट नेपाल’ म्यागेजिनका प्रकाशक बिमल ढकाल, डिप्लोम्याटिक कोप्र्सका डीन तथा नेपालका लागि इजिप्टका राजदूत नोहा हाम्दी अहमद र नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाना सिंगर हाम्दीले संयुक्त रूपमा पत्रिका विमोचन गरे । साथै, सोहि अवशरमा प्रमुख अतिथि र अतिथिहरुले तीनै संस्थाको सुरुआतको उपलध्यक्षमा केक काटेर उत्सव समेत मनाएका थिए । जसमा अन्य अतिथि र राजदूतहरु समेत सामेल थिए ।

२०८२ जेष्ठ ६, मंगलवार प्रकाशित 1 Minute 12 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार