२०८२ असार २३ सोमबार

नेपाल पर्यटन विकासमा विनम्र र बुलन्द आवाजका साथ अघि बढ्छ : मन्त्री पाण्डे

२० जेठ, काठमाडौँ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल विनम्र र बुलन्द आवाजकासाथ अगाडी बढ्ने बताउनुभएको छ ।

नेपाल पर्यटन बोर्डले पाटा नेपाल, नेपाल एयरलाइन्सलगायत अन्य निजी क्षेत्रसँगको सहकार्यमा आयोजना गरेको अन्तरराष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट (एचटीएम)’को मंगलबार उद्घाटन गर्दै मन्त्री पाण्डेले भन्नुभयो, “पछिल्लो समय सकारात्मक भन्दा पनि नकारात्मक सन्देश फैलाउन खोज्ने हावी भएको देखिन्छ । नेपालको कसैसँग दुश्मनी र नेपालमा कुनै आन्तरिक समस्या नरहेकाले नेपाल अब पछाडि फर्कने अवस्थामा नरहेकाले नेपाल विनम्र र बुलन्द आवाजकासाथ अगाडी बढ्छ ।”
आर्थिक तथा सामाजिक विकासमा महत्वपुर्ण भूमिका खेल्ने कला-संस्कृति राष्ट्रिय गैारव भएको उल्लेख गर्दै मन्त्री पाण्डेले भन्नुभयो, “यसलाई अन्तर्राष्ट्रियकरण गरनुपर्नेछ ।”

मन्त्री पाण्डेले जलवायु परिवर्तनको जोखिम नियन्त्रणका लागि सबै लाग्नुपर्ने बताउनुभयो ।
यसका साथै उहाँले सार्वजनिक र निजी क्षेत्रबीच बलियो सहकार्य बढाउनुपर्ने समेत बताउनुभएको छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल प्रकृतिमा आधारित पर्यटनका लागि उत्कृष्ट गन्तव्य भएको बताउनुभएको छ । उहाँले भन्नुभयो,”नेपालका हिमालहरु मात्र होइन, यहाँका सांस्कृतिक र जैविक विविधता पनि पर्यटकीय आधारहरु हुन् ।”
पाटा नेपालका अध्यक्ष खेम लकाईले अतिथीहरुलाई स्वागत गर्नुभयो।

नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले आयोजना गरेको मार्टमा ३० भन्दा बढी मुलुकका १०० बढी विदेशी पाहुनासहित पर्यटनकर्मी, सरोकारवाला गरी ७०० प्रतिनिधिको सहभागिता छ । नेपाल एयरलाइन्सलगायत अन्य प्रमुख पर्यटन सङ्घ, संस्था र राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका साझेदार संस्थासँगको सहकार्यमा सो मार्ट आयोजना गरिएको हो ।
मार्ट अन्तर्गत सञ्चालित सम्मेलनमा २० भन्दा बढी राष्ट्रिय र अन्तरराष्ट्रिय वक्ताले आध्यात्मिक, साहसिक र ‘लक्जरी’ पर्यटन, दिगो पर्यटन, समकालीन बजार प्रवृत्ति, वर्तमान मुद्दा र पर्यटनका लागि उदीयमान अवसरबारे साझा दृष्टिकोण प्रदान गर्नेछन् । त्यसैगरी बीटुबी कार्यक्रमअन्तर्गत यसवर्ष मार्टले संयुक्त राज्य अमेरिका, युरोप, अष्ट्रेलिया, दक्षिण अफ्रिका, रसिया तथा सिआइएस राष्ट्रबाट ६० भन्दा बढी क्रेता र नेपाल, भारत, भुटान, चीन, बङ्गलादेश र श्रीलङ्का गरी छ वटा गन्तव्य राष्ट्रबाट सहभागी हुने ६५ बढी बिक्रेता सहभागी हुने नेपालले जनाएको छ ।

२०८२ जेष्ठ २०, मंगलवार प्रकाशित 1 Minute 56 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।