२०८२ भाद्र १७ मंगलवार

दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान’ बनाइदै छ : अध्यक्ष दाहाल

३० असार, काठमाडौं।  संसदमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बहुआयामिक संकटको जोखिममा रहेको भन्दै गम्भिर चिन्ता व्यक्त गर्नुभएको छ।

उहाँले विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जनतासँग गरिएको सपना र प्रतिबद्धता आजको अवस्थासँग मेल नखाने बताउँदै वर्तमान सत्ताको कार्यशैलीले ती सबै सपना र प्रतिवद्धतालाई अपमानित बनाएको टिप्पणी गर्नुभयो।

“के हामी शान्ति सम्झौताका बेला देखिएको सपना अनुसार अघि बढिरहेका छौं ?” भन्ने प्रश्न गर्दै प्रचण्डले भ्रष्टाचार, अराजकता र बेथिति मौलाएको, सार्वजनिक सेवामा पहुँच कठिन भएको, र पछाडि पारिएका समुदायलाई राज्यले आवश्यक संरक्षण दिन नसकेको उहाँले बताउनुभयो।
संसद र संसदीय समितिमा भैरहेका भूमिकाप्रति समेत असन्तुष्टि जनाउँदै उहाँले विधेयकहरू सर्वसम्मत पारित भए पनि प्रतिनिधिसभामा पुग्दा भएका चलखेल र हस्तक्षेपका कारण अगाडि बढ्न नसकेको भन्दै चर्को आलोचना गर्नुभयो।

अध्यक्ष प्रचण्डले दुई ठूला दलहरूको मिलोमतोले संसदलाई ‘विचौलियाको खेलमैदान’ बनाइएको आरोप लगाउँदै यस्तो प्रवृत्ति देश र जनताका लागि लज्जास्पद र खेदजनक भएको टिप्पणी गर्नुभयो।

उहाँले लोकतन्त्र सुदृढ गर्न सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मार्गमा सरकार गम्भीर रुपमा लाग्नुपर्नेमा जोड दिँदै, यदि गम्भीर समीक्षा र कठोर निर्णयहरू गरिएनन् भने परिस्थिति विस्फोटक बन्न सक्ने चेतावनी दिनुभयो।

२०८२ असार ३०, सोमबार प्रकाशित 0 Minutes 45 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।