२०८२ माघ १ बिहीबार

एमाले महाधिवेशनको आज बन्दसत्र, निर्वाचन प्रकृया आजै सुरु गर्ने तयारी

२८ मंसिर,काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको दोस्रो दिन अन्तर्गत आज बन्दसत्र भृकुटीमण्डपमा हुँदै छ । बिहान ८ बजेबाट बन्दशत्र शुरु गर्ने भनिएपनि केन्द्रीय समितिको बैठक बस्न ढिलाइ भएका कारण दिउँसो १ बजेका लागि बन्दसत्र सारिएको छ । तथापी महाधिवेशन प्रतिनिधिहरु भृकुटीमण्डपमा भेला भेरहेका छन । भृकुटीमण्डपमा अहिले चहलपहल बढेको छ ।
बन्दसत्रस्थलको सुरक्षाका निम्ति नेपाल प्रहरी र एमालेको स्वयंसेवक दस्ता परिचालन गरेको छ । सुरक्षालाई दृष्टिगत गर्दै भृकुटीमण्डप चौरको चारै दिशालाई सर्वसाधारणको आवतजावत निषेध गरिएको छ । भृकुटीमण्डप चौरभित्र महाधिवेशनमा भाग लिन पाउने बाहेकका व्यक्तिलाई प्रवेश निषेध गरिएको छ ।

नेकपा एमालेको केन्द्रीय समिति बैठक बिहान ९ बजे आह्वान भए पनि निर्धारित समयमा बैठक सुरु नभएका कारण बन्दसत्र प्रभावित भएको हो।बिहानै बन्द शत्रका लागि भृकुटीमण्डप पुगेका महाधिवेशन प्रतिनिधिहरु नेताहरुले बाँडेका विभिन्न सामग्री लिएर महाधिवेशनस्थलमा आएका नेताहरुसँग भेटघाट तथा छलफलमा व्यस्त छन । खाजा खाँदै फोटोसेसनमा प्रतिनिहिरुको समय बितिरहेको छ ।
आज बन्दसत्रमा विधान संशोधनको प्रस्ताव लैजाने गरी केन्द्रीय समितिको बैठक आह्वान भएपछि बन्दसत्र पछाडि धकेलिएको हो भने नेताहरुको आन्तरिक छलफल लम्बिँदा केन्द्रिय समिति बैठक बस्न ढिलाई भएको हो । नेताहरु आआफ्नै ढंगले अनौपचारिक र आन्तरिक छलफलमा व्यस्त छन् ।

केन्द्रीय सचिवालयले नै अध्यक्षमण्डलको काम गर्ने निर्णय गरेकाले उसैले बन्दसत्र सुरु गर्नेछ । र, केन्द्रीय निर्वाचन आयोगलाई कामको जिम्मा दिनेछ । आइतबारबाटै निर्वाचन प्रक्रिया सुरु गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । दुई हजार २६२ प्रतिनिधिको नामावली प्रकाशन, उम्मेदवारी मनोनयन, निर्वाचनको कार्यतालिका प्रकाशन गरेर आइतबार बिहानैबाट क्रमशस् प्रक्रिया अगाडि बढ्ने गौतमले जानकारी दिए । उनले सम्भवतस् सोमबार उम्मेदवारी मनोनयन हुने बताए । तथापी निर्वाचन आयोगका प्रमुख डा। विजय सुब्बाले भने निर्वाचित हुने क्लस्टर टुंग्याएर दिएपछि मात्र निर्वाचन प्रक्रिया अगाडि बढाउन सहज हुने बताए । क्लस्टर टुंगिएर आयो भने आइतबारबाटै पनि निर्वाचन कार्यतालिका सार्वजनिक गरेर प्रक्रिया अगाडि बढाउन सकिने सुब्बाले बताए । उम्मेदवारी मनोनयनपछि भोटिङ मेसिनमा अल्फाबेटिकल्ली फोटोसहितको नामको सूची राख्न कम्तीमा १५ घण्टा लाग्ने उनको भनाइ छ । नियमित रूपमा काम अगाडि बढ्दा १ पुसमा मतदान सकेर ढिलोमा २ गते बिहानभित्र परिणाम सार्वजनिक गर्न सक्ने योजना रहेको उनले जानकारी दिए । उनका अनुसार ८० वटा भोटिङ मेसिनमा मतदान गराउने र एकजना प्रतिनिधिलाई मत दिन २५ मिनेट लाग्ने अनुमान छ । उनले मतदान सकिएको तीन घण्टाभित्र परिणाम सार्वजनिक गर्न सकिने बताए ।
बन्दसत्र सञ्चालनका लागि प्रदीप ज्ञवालीको नेतृत्वमा प्रस्ताव लेखन र पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा माइन्युटिङ कमिटी बनाउने सचिवालयले निर्णय गरेको थियो । थप समिति र सदस्यहरू अध्यक्षमण्डलले नै बनाउनेछ भने डा। सुब्बा नेतृत्वको निर्वाचन आयोगले निर्वाचनसम्बन्धी काम गर्नेछ ।
शनिबारको उद्घाटन समारोहमा अध्यक्षका प्रत्याशी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गरेनन् । उपमहासचिव प्रदीप ज्ञवालीको सञ्चालन, अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलको मन्तव्य आउँदा वरिष्ठ उपाध्यक्ष पोखरेल बोलेनन् । महाधिवेशन उद्घाटनका क्रममा पोखरेललाई स्वागत सम्बोधन गर्न अध्यक्ष ओलीले प्रस्ताव गरेतापनि उनले आफुलाई वक्ताकै रुपमा राख्नुपर्ने भन्दै अस्वीकार गरेका थिए ।

२०८२ मंसिर २८, आईतवार प्रकाशित 0 Minutes 61 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार