काठमाडौँ, — नेपाल–अमेरिका एलुम्नी नेटवर्क (नुसान) ले उद्यमशीलता र नवप्रवर्तन प्रवर्द्धन गर्ने उद्देश्यसहित उद्यमी मेला २०२५ सफलतापूर्वक सम्पन्न गरेको छ। ललितपुरको इन्टरनेशनल क्लबमा आयोजित एकदिने उक्त मेलामा ५०० भन्दा बढी युवा उद्यमी, उद्योगका अगुवा, लगानीकर्ता, विद्यार्थी तथा व्यवसायप्रेमीहरूको सहभागिता रहेको थियो।
नुसान उद्यमी मेला २०२४ को सफलतापछि आयोजना गरिएको यस वर्षको मेलालाई देशकै सबैभन्दा जीवन्त उद्यमशील कार्यक्रममध्ये एक मानिएको छ। मेलामा सूचना प्रविधि, लाइफस्टाइल तथा कपडा, खाद्य तथा पेय पदार्थ, नेपाली उत्पादन, तथा एसेसरीज र आभूषणलगायत विभिन्न क्षेत्र प्रतिनिधित्व गर्ने ३४ वटा स्टलहरू राखिएका थिए। ती स्टलहरूले स्थानीय उद्यम, सिर्जनशीलता र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने अवसर प्रदान गरेका थिए।



कार्यक्रमको मुख्य प्रायोजक एफवान सफ्ट ग्रुप र सह–प्रायोजक नबिल बैंक लिमिटेड रहेका थिए। अमेरिकी एक्सचेन्ज एलुम्नी नेतृत्वमा सञ्चालित संस्थाहरू—यङ इनोभेसन्स, स्वोतिश्री गुरुकुल आईबी स्कुल तथा किङ्स कलेजले पनि कार्यक्रमलाई सहयोग गरेका थिए। साथै स्टुडियो डेन्टाले र इन्टरनेशनल क्लब कार्यक्रमका साझेदारका रूपमा जोडिएका थिए।
प्रदर्शनीपछि आयोजित नेटवर्किङ सत्र मेलाको प्रमुख आकर्षण बनेको थियो। उक्त सत्रमा प्रायोजक, उद्यमी र विभिन्न सरोकारवालाबीच सहकार्य, साझेदारी तथा भविष्यका व्यवसायिक अवसरबारे गहन छलफल भएको थियो। यसले विचार र अवसरलाई जोड्दै दिगो उद्यमशील विकासमा योगदान पुर्याएको आयोजक सस्था नुसानले जनाएको छ।
कार्यक्रममा अमेरिकी दूतावासकी सांस्कृतिक मामिला अधिकारी एरिका एलन एलेक्जेन्डरको विशेष उपस्थिति रहेको थियो। उनले नेपालमा उद्यमशीलता र नवप्रवर्तनको क्षेत्रमा सक्रिय अमेरिकी एक्सचेन्ज एलुम्नीको भूमिकाको प्रशंसा गर्दै सहभागीहरूलाई थप प्रेरणा प्रदान गरेको बताइन ।

नुसान उद्यमी मेला २०२५ ले नवप्रवर्तन, नेटवर्किङ र आर्थिक सशक्तीकरणका लागि प्रभावकारी मञ्च प्रदान गरेको आयोजकको निष्कर्ष छ। बढ्दो सहभागिता, बलियो साझेदारी र प्रभावशाली प्रस्तुतिसँगै यस मेलाले देशमा युवानिर्देशित उद्यमशील पहलका लागि नयाँ उदाहरण स्थापित गरेको छ।
यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


