२०८२ फाल्गुन १८ सोमबार

माघीमा प्रधानमन्त्री सुशीला कार्की

प्रधानमन्त्री सुशीला कार्की आज माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक हुनुभएको छ।
थारु कल्याणकारिणी सभालगायत विभिन्न संघसंस्थाले संयुक्त रुपमा काठमाडौँको टुँडिखेलमा आयोजित सभामा प्रमुख अतिथिका रुपमा सहभागी भई प्रधानमन्त्री कार्कीले विभिन्न सांस्कृतिक झाँकीको अवलोकन पनि गर्नुभयो।
‘थारु कला संस्कृति हाम्रो पहिचान, यसको संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा मौलिक कला तथा संस्कृति झल्किने झाँकीहरु प्रस्तुत गरिएको थियो।
प्रधानमन्त्री कार्कीले औलोसँग जुध्दै तराईँलाई आवाद बनाउने कर्मशील थारू समुदायसँग आफ्नो पनि आत्मीय सम्बन्ध रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘मेरो बाल्यकाल थारु समुदायका साथीहरुसँगै बितेको छ। थारु भान्सामा पाक्ने प्रत्येक परिकारको स्वाद मेरो जिब्रोमा भिजेको छ। त्यसैले माघी पर्व मेरा लागि पनि विशेष पर्व हो।’
विभिन्न समुदायहरूले फरक–फरक नाम, शैली र परम्पराअनुसार यो चाड मनाए पनि त्यसको मर्म एउटै रहेको बताउँदै उहाँले थप्नुभयो, ‘हामी विविध छौँ, तर एउटै छौँ। हामी बहुल छौँ, तर सँगै छौँ। हामी धेरै भएर नै पूर्ण छौँ।’
विश्व मानचित्रमा नेपाल एकता, सद्भाव र सहअस्तित्वको अनुपम उदाहरण बनेर उभिएको र यही नै हाम्रो मौलिक पहिचान तथा शक्ति रहेको उहाँको भनाइ थियो।
उहाँले आपसी सद्भाव, विश्वास र सहकार्यका माध्यमबाट मुलुकलाई शान्ति, स्थायित्व र समृद्धितर्फ अग्रसर गराउनका निम्ति भूमिका खेल्न पनि सबैलाई आह्वान गर्नुभयो।
उहाँले भन्नुभयो, ‘वर्तमान विशिष्ट परिस्थितिमा हामी सबै अझ संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ। त्यसकारण, यस्ता सांस्कृतिक पर्वहरूको मर्म आत्मसात् गर्दै समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सरकार, समुदाय र नागरिक सबैले आ–आफ्नो स्थानबाट सक्रिय भूमिका खेल्नुपर्छ।’

२०८२ माघ १, बिहीबार प्रकाशित 0 Minutes 84 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।