१ माघ, धादिङ । आगामी प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा धादिङ क्षेत्र नम्बर २ मा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ। यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक केन्द्रीय सदस्य उपेन्द्र पाण्डेले यस क्षेत्रबाट आफ्नो उम्मेदवारीको बलियो दाबी प्रस्तुत गरेका छन्।
पार्टी स्थापनाकालदेखि नै सभापति रवि लामिछानेलाई साथ दिँदै आएका पाण्डेले आफूलाई यस पटक धादिङ-२ को चुनावी मैदानमा होम्ने तयारी पूरा भएको बताएका छन्। व्यवसाय व्यवस्थापनमा लामो अनुभव सँगालेर राजनीतिमा आएका पाण्डेलाई रास्वपाभित्र तार्किक र नतिजामुखी नेताका रूपमा चिनिन्छ।



किन पाण्डे नै त?
पाण्डेले आफू उम्मेदवार बन्नुको मुख्य कारण पुराना राजनीतिक दलहरूको काम गर्ने शैलीमा सुधार नआउनु र जनताले परिवर्तन खोज्नुलाई बताएका छन्। “देशमा धेरै पटक पात्र र नाराहरू फेरिए, तर जनताको अवस्था फेरिएन,” पाण्डे भन्छन्, “अब पात्र मात्र होइन, राजनीति गर्ने चरित्र र शैली बदल्न आवश्यक छ। त्यसैले मैले आफूलाई अघि सारेको हुँ।”
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका स्थायी बासिन्दा पाण्डेले आफ्नो निर्वाचन क्षेत्रका सातवटै स्थानीय तहको भूगोल र त्यहाँका समस्यालाई नजिकबाट बुझेको दाबी गरेका छन्। उनी भन्छन्, “म यहीँको माटोमा भिजेको मान्छे हुँ। यहाँको उत्तरी भेगका मतदाताको भावना र यहाँको विकासको आवश्यकता मसँग स्पष्ट छ।”
पाण्डेका चुनावी केहि एजेण्डाहरू:
१. सडक र पूर्वाधार: “गुणस्तरमा सम्झौताहीन विकास”
• दिगो सडक: बर्खामा सडक बन्द हुने समस्या अन्त्य गर्न आधुनिक इन्जिनियरिङ र ढलको व्यवस्थासहितको ग्रामीण सडक निर्माण गर्ने।
• पुल र तुइन विस्थापन: क्षेत्र भित्रका प्रमुख नदीहरूमा अलपत्र परेका पुलहरूको काम तत्काल सम्पन्न गराउने।
२. कृषि क्रान्ति: “किसानको पसिनाको मूल्य”
• कृषि एम्बुलेन्स र कोल्ड स्टोर: त्रिपुरासुन्दरी र ज्वालामुखीका तरकारी उत्पादक किसानका लागि संकलन केन्द्र र बजारसम्म पुर्याउन ‘कृषि एम्बुलेन्स’ सञ्चालन गर्ने।
• मल र बिउको ग्यारेन्टी: सिजनमा मल नपाउने समस्या अन्त्य गर्न जिल्लामै ‘बफर स्टक’ को व्यवस्थाका लागि पहल गर्ने।
• बाँदर नियन्त्रण योजना: बालीनाली जोगाउन वैज्ञानिक र कानुनी उपायहरूको कार्यान्वयन गर्ने।
३. पर्यटन र संस्कृति: “हाम्रो सम्पदा, हाम्रो पहिचान”
• धार्मिक सर्किट: सल्यानकोट त्रिपुरासुन्दरी, ज्वालामुखी र गंगाजमुनालाई समेटेर ‘धार्मिक पर्यटकीय पदमार्ग’ निर्माण गर्ने।
• सांस्कृतिक संरक्षण: तामाङ, गुरुङ र मगर समुदायको कला-संस्कृति जोगाउँदै ‘होमस्टे’ मार्फत गाउँमै रोजगारी सिर्जना गर्ने।
४. स्वास्थ्य र शिक्षा: “घरदैलोमा सेवा”
• सुविधासम्पन्न अस्पताल: धादिङ अस्पतालको स्तरोन्नति र प्रत्येक गाउँपालिकामा २४ घण्टे आकस्मिक स्वास्थ्य सेवा र ल्याबको सुनिश्चितता।
• सीपमूलक शिक्षा: सामुदायिक विद्यालयहरूमा प्राविधिक शिक्षा (कृषि, भेटेरिनरी, आइटी) अनिवार्य गराउने र दुर्गमका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था।
५. सुशासन: “भ्रष्टाचारमा शून्य सहनशीलता”
• सांसदको उपस्थिति: काठमाडौँ केन्द्रित होइन, अधिबेशन बाहेकको समयमा क्षेत्रका विभिन्न वडामा बसेर ‘जनताको कुरा’ सुन्नेछु।
• भ्रष्टाचार विरुद्धको घण्टी: स्थानीय तहमा हुने बजेटको दुरुपयोग र ठेक्कापट्टामा हुने सेटिङ विरुद्ध कडा निगरानी राख्ने।
. नीतिगत सुधार: सांसदको मुख्य काम कानुन बनाउने भएकोले संसद्मा पुगेर जनपक्षीय कानुन निर्माणमा भूमिका खेल्ने।
. स्वरोजगार र पूर्वाधार: धादिङको स्रोत-साधन प्रयोग गरेर स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने र रोकिएका विकासका योजनालाई गति दिने।
. भ्रष्टाचार विरुद्धको अभियान: राजनीतिलाई शक्ति देखाउने माध्यम नभई सेवाको क्षेत्र बनाउने र भ्रष्टाचारलाई जरैदेखि उखेल्ने।
. युवाको आवाज: नयाँ पुस्ता (Gen-Z) को चाहना र बदलिँदो समय अनुसारको प्रविधियुक्त राजनीति गर्ने।
प्रचारभन्दा काममा विश्वास
रास्वपाभित्र प्रचार प्रसारमा भन्दा बढी काममा खटिने नेताका रूपमा पाण्डेको छुट्टै छबि छ। पार्टीले आह्वान गरेको उम्मेदवारको आकाङ्क्षी सूचीमा आफू सबैभन्दा बलियो रहेको उल्लेख गर्दै उनले यसबारे पार्टी केन्द्रलाई समेत जानकारी गराइसकेका छन्।
पछिल्लो समय धादिङ-२ मा रास्वपाको बढ्दो प्रभाव र पाण्डेको सक्रियताले पुराना राजनीतिक दलहरूलाई समेत सोच्न बाध्य बनाएको छ। उनी भन्छन्, “अहिलेको समय भनेको मन र मत दुवै बदल्ने समय हो। धादिङका जनताले यस पटक सही विकल्प छान्नेमा म विश्वस्त छु।”
यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


