१३ चैत्र, काठमाडौँ । ताजा जनादेश अनुरुप आज मुलुकले नयाँ प्रधानमन्त्री पाँउदै छ । राष्ट्रपति कार्यालय शीतल निवासमा मध्याह्न १२ः३४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउनुहुनेछ।
आजको शपथग्रहण कार्यक्रम धेरै कारणले विशेष रहने छ । यस अवसरमा सात जना ब्राह्मणले शंखनाद गर्नेछन् भने १०८ बटुकहरूले स्वस्तिवाचन गर्ने र १६ भिक्षुहरूले अष्टमंगल पाठ गर्नेछन्। २०७२ को संविधान जारी भएयता नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार पहिलो पटक एकल सरकार गठन हुन लागेको हो।



शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ। प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने तयारि छ ।फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट हासिल गरेको छ । रास्लेवपाले हिजो मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरिसकेको छ। वरिष्ठ नेता शाहले झापा क्षेत्र नं ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी विजयी भएका थिए। बिहिबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अजुर्ननरसिंह केसीले सबै सांसदहरूलाई पद तथा गोपनियताको शपथ गराइसक्नु भएको छ ।
यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


