राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ ।
प्रज्ञा प्रतिष्ठान कमलादीमा आज बिहान सभापति रवि लामिछाने र पदाधिकारीले घण्टी बजाएर केन्द्रीय परिषदको राष्ट्रिय भेलाको उद्घाटन गरेका हुन। भेलामा देशभरबाट १ हजार ५ सय प्रतिनिधि सहभागी छन्।
भेलाको पहिलो दिन आज विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुनेछ। सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन पेश गरिनेछ। आजै विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्वल र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ।
भेलाको दोस्रो दिन भोलि प्रस्तुत सबै प्रतिवेदन र प्रस्ताव उपर समूहगत छलफल हुने छ। भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपरान्ह सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला भोलि नै सकिनेछ।
भेलामा छलफलका लागि ल्याइने प्रतिवेदन र प्रस्ताव हिजो बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको छ। राष्ट्रिय भेलालाई सभ्य, भव्य र व्यवस्थित बनाउन रास्वपाले पार्टी पंक्तिलाई आग्रह गरेको छ। पार्टीलाई थप सुदृढ र जनपक्षीय बनाउन भेला सफल हुने नेताहरुले विश्वास व्यक्त गरेका छन्।
यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।