आश्विन २, काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज नेपालले ओमानको सामना गर्दैछ ।
क्यानडाको किङ्ग सिटीमा हुने खेल नेपाली समय अनुसार बुधवार राति ८ः४५ बजे सुरु हुनेछ । यो संस्करणको लिग २ मा नेपाल र ओमान पहिलो पटक आमनेसामने हुन लागेका छन ।
अघिल्लो संस्करणमा ओमानले दोस्रो र नेपालले तेस्रो स्थानमा रहेर लिग टु सकाएका थिए । अघिल्लो संस्करणमा नेपाल र ओमान ६ खेलमा आमने सामने हुँदा ४ खेल ओमानले तथा २ खेल नेपालले जितेको थियो ।
यो संस्करणमा ४ खेल खेल्दा ओमान ३ अंकका साथ छैटौं स्थानमा तथा नेपाल ५ खेलबाट २ अंकका साथ सातौं स्थानमा छ । यस त्रिकोणात्मक सिरिजमा नेपाल र ओमानको साथै क्यानडाको पनि सहभागिता छ । त्रिकोणात्मक ओडिआई सिरिज असोज १० गते सम्म हुनेछ।
सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । ओमानले भने यो सिरिजमा पहिलो खेल खेल्दैछ ।
नेपालले त्रिकोणात्मक ओडिआई सिरिजमा तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध खेल्नेछ ।
ओडिआई सिरिज सकिएको २ दिन पछि तीन टोलीबीचमा टि ट्वान्टी आई सिरिज हुनेछ । सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ ।
त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली अमेरिका जानेछ ।
यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।