२०८१ पुष ८ सोमबार

“निलाञ्जला” लोकार्पण

५ आश्विन, काठमाडौं। निलाञ्जला भारद्वाजको मुक्तक सङ्ग्रह “निलाञ्जला” लोकार्पण भएको छ। साहित्यमा पृथक स्थान बनाउन सफल मुक्तक विधामा नयाँ आयामको रुपमा भारद्वजको पहिलो कृति शनिवार वरिष्ठ गीतकार यादव खरेल सहितका साहित्यकारहरुले संयुक्त रुपमा सार्वजनिक गर्नुभयो ।

काठमाडौंको लेखनाथ प्रवचन हल, प्रज्ञा प्रतिष्ठानमा आयोजित भव्य साहित्यिक कार्यक्रमकाबीच लोकार्पण “निलाञ्जला” ले कृतिकार भारद्वाजको साहित्यिक जीवनको महत्वपूर्ण मोडलाई चिह्नित गरेको मात्र नभइ, नेपाली साहित्यमा पनि एउटा कोसेढुंगा थप्न सफल रहने विश्वास स्रष्टाहरुको छ।

उक्त कार्यक्रमका प्रमुख अतिथि गीतकार यादव खरेलले मुक्तकहरूको भावनात्मक गहिराइको चर्चा गर्दै, कृतिले पाठकहरूलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नु भयो। गीतकार खरेलले मुक्तकहरूले शब्दहरूको सुगठित उपयोग गरेको र  पाठकको अन्तरमनलाई छुन सक्षम रहेको उल्लेख गर्दै यसलाई अझ स्वर र दृश्यमा पनि समेटन सुझाव दिनु भयो ।

कृतिको सम्पादन गर्नु भएका मुक्तकालय नेपालका संरक्षक सुनिल अधिकारीले यसलाई कसरी सजीव बनाइएको हो भन्ने कुरामा प्रकाश पार्दै, कृतिको विशेषताहरू उजागर गर्नुभएको थियो।

कार्यक्रमका वक्ताहरूले निलाञ्जलाका मुक्तकहरूको साहित्यिक महत्त्वमा प्रकाश पार्दै कृतिले नेपाली साहित्यमा मुक्तक विधाको गरिमा थप्ने विचार व्यक्त गर्नु भएको थियो। कार्यक्रमको विशेष अतिथिका रुपमा ज्ञानुवाकर पौडेल, ज्ञानु अधिकारी,रमेश पौडेल, यादव भट्टराई, राजन सिलवाल, निर्मलरमण पराजुली, राजेन्द्र घिमिरे, अच्युत घिमिरे, निलाञ्जल कृतिकारका सासुससुरा कृष्ण ढकाल अमृता ढकाल, मदनकुमार नेपाल लगायको उपस्थिति थियो ।

कार्यक्रममा समालोचक ज्ञानु अधिकारीले कृतिको समालोचना गर्दै स्रष्टाको सम्मान र सहित्यको संरक्षणका लागि यस्ता सृजना किनेर पढ्न पाठकहरुलाई प्रेरित गर्नु भयो ।

“निलाञ्जला” कृतिकारको साहित्यिक यात्राका एक दशकको साधना पश्चात जन्म भएको कृति भएको जस्मा ४ सय २ मुक्तक समावेश छन । आफ्नो भावना, राष्ट्र, नेपाली जीवनशैली, बदलिदो परिवेश, आत्मचिन्तन, प्रेम, नेपाली समाज, नारीको बेदना, पारिवारिक गतिबिधि, बिछोड, संघर्ष, सपना जस्ता परिस्थितिहरुलाई मुक्तकमा रुपान्तरण गरिएको छ।

कार्यक्रममा सहभागिहरुले साहित्यको फाँटमा यस कृतिबाट एक गहिरो अनुभूति दिने र नेपाली साहित्यमा एउटा नयाँ अध्याय थप्ने विश्वास गर्नुभएको थियो ।

मुक्तकालय नेपालकी अध्यक्ष समेत रहनुभएकी निलाञ्जला भारद्वाजको यो कृति लेखन सृजनशीलता र भावनात्मक गहिराइको प्रतिफलको रुपमा रहेको छ। 

कार्यक्रमका वक्ताहरूले निलाञ्जलाका मुक्तकहरूको साहित्यिक महत्त्वमा प्रकाश पार्दै यस कृतिले नेपाली साहित्यमा मुक्तक विधाको गरिमा थप्ने विचार व्यक्त गर्नु भएको थियो। 

बादल ढकाल द्वारा प्रकाशित “निलाञ्जला”को लोकार्पणको अवसरमा कृतिकारकी छोरी बर्षा ढकालले आफ्ना अभिभावकको साहित्यिक सन्तान लोकार्पणको साक्षी बन्न पाएकोमा गर्व लागेको बताउनु भयो। कार्यक्रममा वक्ताहरुले निलाञ्जलाको सृजनाले नेपाली साहित्यलाई समृद्ध मात्र बनाएको नभइ, यसले पाठकहरूलाई आफ्ना भावनाहरूको पुनर्परिभाषा गर्न र जीवनलाई नयाँ दृष्टिकोणबाट बुझ्न समेत प्रेरित गरेको धारणा राख्नु भयो । यो कृति नेपाली साहित्यको उज्यालोमा एक नयाँ बत्ती साबित भएको छ, जसले मुक्तकलाई नेपाली साहित्यको सजीव विधा बनाउने दाबी समेत वक्ताहरुको थियो। निलाञ्जला भारद्वाजको यो साहित्यिक कृति केवल मुक्तकहरूको संग्रह मात्र नभइ, एक साहित्यिक आन्दोलन समेत रहेको उहाँहरुको निष्कर्श थियो ।यस कृति साहित्यिक जगतमा मात्र होइन, जीवनको सुन्दरतालाई आत्मसात गर्ने सम्पूर्ण पाठकहरूका लागि मार्गदर्शन रहेको चित्रण कार्यक्रममा गरिएको थियो । निलाञ्जलाको लेखनले नेपाली साहित्यमा एक नवीन आयाम थप्दै, सृजनशीलताका नयाँ अध्यायहरू सुरु गरेकोमा कृतिकारलाई आगामी दिनहरुमा पनि समाजका समसामयिक विविध विषयलाई टिपेर सशक्त मुक्तक लेखन यात्रा निरन्तरताको लागि शुभकामना व्यक्त गरिएको थियो ।

२०८१ आश्विन ६, आईतवार प्रकाशित 0 Minutes 111 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार