१७ पुष, काठमाडौं। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) को अध्यक्षमा नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगतबहादुर सिंखडा चयन भएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित छैटौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनले सिंखडालाई एक वर्षको लागि जेटीयूसीसीको अध्यक्ष चयन गरेको हो ।
सम्मेलनले महासचिवमा इन्द्रदेव मिश्र र महिला संयोजकमा सीता लामालाई चयन गरेको भने महिला समितिको सचिवमा सरिता घिसिङ चयन भएकी छन् ।
जेटीयूसीसीमा हाल नेपालमा मान्यता प्राप्त १० वटा ट्रेड युनियन महासंघ आबद्ध छन् । हरेक वर्षमा हुने जेटीयूसीसीको अध्यक्षमा छुट्टाछुट्टै ट्रेड युनियन संस्थाले प्रतिनिधित्व गर्ने गरेका छन् ।
जेटीयूसीसीका नवनिर्वाचित अध्यक्ष जगत सिंखडाले ट्रेड युनियन आन्दोलन अप्ठ्यारो अवस्थामा रहेको बेला नेतृत्व गर्नु चुनौतीपूर्ण रहे पनि सशक्त नेतृत्व प्रदान गर्ने बताएका छन् ।
उनले भने, ‘संविधानमा श्रमिकका विषय सम्बोधन भए पनि श्रमिकको हितमा कानुन बन्न सकेका छैनन् । उल्टो हिंड्न थालेको नेपालको ट्रेड युनियन आन्दोलनलाई सुल्टो बाटोमा ल्याउने प्रयास गर्छु ।’
सिंखडाले श्रम ऐनभित्र भएका श्रमिक विरोधी व्यवस्थालाई संशोधन गर्न पहल गर्ने र योगदानमा आधारित सामाजिक सुरक्षालाई कार्यान्वयनमा लैजान जोड दिने बताए ।
यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।