२०८१ पुष २९ सोमबार

उपनिर्वाचनबाट पूर्वी नेपालले माओवादीलाई देशकै पहिलो पार्टी बन्ने संकेत गरिसक्योः अध्यक्ष दाहाल

१८, पुष, काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयअघि भएको स्थानीय तहको उपनिर्वाचनमा आएको मतपरिणामबाट पूर्वी नेपालले माओवादीलाई पहिलो पार्टी बनाइसकेको उल्लेख गरेको यो आगामी निर्वाचनका लागि महत्वपूर्ण संकेत भएको बताउनुभएको छ ।
पार्टी प्रवेश, बधाई तथा उदयपुर जिल्लाका नेता कार्यकर्ताहरुसँग आज पार्टी कार्यालय पेरिसडाँडामा भएको भेटमा उहाँले यस्तो धारणा राख्नुभएको हो ।
‘यसपटकको उनिर्वाचनमा प्रदेश नम्बर १ मा जितेका स्थान र लोकप्रिय मत दुबै हिसाबले हाम्रो पार्टी पहिलो बनेको छ’– उहाँले भन्नुभयो– ‘वडा मात्रै होइन, यसपटक पहिले तेस्रो भएको स्थानमा गाउँपालिकामा नै अत्यधिक मतले विजयी हुनु निकै महत्वपूर्ण संकेत हो, अब पार्टीलाई एकताबद्ध बनाउँदै मेहनत गरेर जाने हो भने आगामी निर्वाचनमा देशभरि नै पहिलो पार्टी बन्ने आधार तयार भएको छ ।’
उदयपुरमा यसअघि हारेका दुई वटा वडामा अत्यधिक मतका साथ विजयी हुनु उल्लेख प्रगति भएको स्पष्ट गर्दै अध्यक्ष प्रचण्डले यसका लागि उदयपुरको पार्टी नेतृत्वलाई बधाई दिंदै मतदातालाई धन्यवाद दिनुभयो । ‘यो उपनिर्वाचनबाट हामी देशैभरि पनि तेस्रोबाट दोस्रोमा उक्लेका छौं, अब हाम्रो विजय यात्रालाई कसैले रोक्न सक्दैन’– उहाँले भन्नुभयो– ‘आजबाट निकै उत्साहपूर्ण रुपमा स्थायी समिति बैठक सुरु भएको छ, अब हामी स्थायी समितिहुँदै केन्द्रीय समिति बैठकबाट पार्टीलाई जनतासँग जोड्ने स्पष्ट कार्ययोजनासहित नयाँ उचाईमा उठाउने छौं ।’
आफूले गत भदौमा मोरङ, सुनसरी र झापाको भ्रमण गर्दा, उदयपुरको बेलकामा आयोजित पार्टीको परामर्श बैठक मात्र होइन, भर्खरै रुपन्देही, कञ्चनपुर र झापामा भएको उल्लासपूर्ण पार्टी प्रवेशले देशव्यापीरुपमा जनलहर बढ्दै गएको पुष्टि गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘यो जनलहर २०८४ को जीतको लहर हो, सबैले एकताबद्ध भएर मेहनत गरौं फेरि पनि पार्टीलाई एक्लै लडेर पहिलो शक्ति बनाउन सकिने छ।’
सो क्रममा एकीकृत समाजवादी युवा संघ उदयपुरका अध्यक्ष खिलराज राई र तामाङ भाषाको चलचित्रका स्थापित कलाकार ऋतुराम पोख्रिन माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो । त्यस्तै लामो समय माओवादी आन्दोलनमा रहेर केही समयअघि एमालेमा प्रवेश गर्नुभएका स्थापित नेता गञ्जु शेर्पाको दम्पत्ति पनि पुनः माओवादी केन्द्रमा समायोजन भएको छ । उहाँहरुलाई अध्यक्ष प्रचण्डले खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष प्रचण्डले त्रियुगा १२ नवनिर्वाचित वडा अध्यक्ष नवीनकुमार वान्तवा राईलाई सम्मान गर्नुभएको थियो ।

२०८१ पुष १८, बिहीबार प्रकाशित 0 Minutes 28 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार